लक्ष्मी पाेखरेल,
दाङ । दाङको राप्ती गाउँपालिका-३ स्थित खुरिया-मसुरिया क्षेत्रमा स्वच्छ, सुरक्षित र नियमित खानेपानी वितरणलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँ भेला सम्पन्न भएको छ ।
खुरिया टोल विकास समितिको आयोजनामा भएको भेलामा श्रीचौर खानेपानी तथा सरसफाइ आयोजनाको व्यवस्थापन सुधार गर्दै उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको हो ।
खुरिया टोल विकास समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट प्रमुख अतिथि तथा उपाध्यक्ष कमलापति चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष उमेश अधिकारी, यूएनसीडी एपका अनु अधिकारी र प्रज्ञान जोशी, श्रीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुला गिरी, समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो।
भेलामा वक्ताहरूले स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले यसको सहज, नियमित र गुणस्तरीय आपूर्तिका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
छलफलका क्रममा खानेपानी वितरण प्रणालीमा देखिएका समस्या, पाइपलाइन व्यवस्थापन, मुहान संरक्षण, पानीको गुणस्तर परीक्षण तथा उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउने उपायबारे सुझाव संकलन गरिएको थियो।
प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष विष्टले स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने विषयमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराइने बताए।
उपाध्यक्ष चौधरीले खानेपानी आयोजनाको दीर्घकालीन दिगोपना सुनिश्चित गर्न उपभोक्ताको सक्रिय सहभागिता र जिम्मेवारीबोध अपरिहार्य रहेको उल्लेख गरे।
भेलाले श्रीचौर खानेपानी तथा सरसफाइ आयोजनाको व्यवस्थापनलाई थप सुदृढ गर्दै खुरिया–मसुरिया क्षेत्रका सबै उपभोक्तालाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउन आवश्यक पहल अगाडि बढाउने निष्कर्ष निकालेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस