रोपाइँ गरिरहेका बेला पहिरो, एक गम्भीरसहित छ किसान घाइते

काठमाडौँ। नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला सोमबार पहिरो जाँदा छ जना किसान घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि माथिबाट ठूलो पहिरो खसेर खेत बगाएको हो । घाइतेमध्ये ६५ वर्षिय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ ।

उनलाई करिब सातदेखि आठ सय मिटर तल जंगल क्षेत्रमा पहिरोबीचबाट उद्धार गरी काठमाडौँस्थित ग्रान्डी अस्पताल पठाइएको छ। अन्य घाइतेको स्थानीय चारघरे उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

माथिबाट पहिरो खस्न थालेको देखेपछि खेतमा काम गरिरहेका अधिकांश किसान भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

पहिरोले करिब सात रोपनी खेत पूर्ण रूपमा बगाएको स्थानीय रामशरण भट्टले बताउनुभयो। उहाँका अनुसार पहिरोपछि खेत पूरै भीरजस्तो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस