नेपालको कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद शोधप्रबन्ध तयार पार्ने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य, मदन भण्डारीका रचनाहरूको सङ्कलन र सम्पादन गरी जनताको बहुदलीय जनवादको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएका सूर्य थापासँग २०७५ पुस २१ गरिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ :
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव के–के थिए ?
सबैभन्दा महत्त्वपूर्ण प्रभाव माओत्से तुङ्को नेतृत्वमा भएको चिनियाँ जनवादी क्रान्तिको नै थियो । असाधारण त्याग, बलिदान र जनसमर्थनका साथ चिनियाँ जनताको त्यस क्रान्ति गाथाले सिङ्गो संसार तरङ्गित थियो । नेपालमा त्यसको प्रभाव नपर्ने कुरै भएन । खास गरी कमरेड पुष्पलालमा त्यसको गहिरो प्रभाव रहेको तथ्य उहाँको जीवनकालबाटै स्पष्ट पाउन सकिन्छ ।
भारतीय स्वतन्त्रता सङ्ग्रामले दक्षिणी छिमेकी भारतबाट विश्वमा कहिल्यै नअस्ताउने सूर्य अस्ताइसकेको थियो । अर्थात्, गान्धीको नेतृत्वमा भएको अहिंसात्मक सत्याग्रह र भारतीय स्वतन्त्रता सङ्ग्रामले नेपाल र नेपालीलाई जहाँनिया राणातन्त्र विरुद्ध सङ्घर्षमा अघि बढ्न प्रेरणा दिइरहेको थियो । फलतः नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना युगिन आवश्यकताको परिघटना जस्तै हुनपुगेको थियो ।
पार्टी स्थापनाको बत्तीस वर्षअघि सोभियत सङ्घमा लेनिनको नेतृत्वमा मार्क्सवादको पहिलो सफल प्रयोग अक्टोबर क्रान्तिको माध्यमबाट गरिएको थियो । त्यसले सिर्जना गरेको ऊर्जा र ज्वारले सिङ्गो युरोपका राष्ट्रभरि जबरजस्त क्रान्तिकारी परिवेश तयार हुनुका साथै थुप्रै देश साम्राज्यवादको शोषण, दमन, अधीन र दासताबाट मुक्त हुनपुगेका थिए । पहिलो
(सन् १९१४–१९१८) र दोस्रो (सन् १९४२–१९४५) का विश्वयुद्धहरूले सिङ्गो संसारमा नयाँ परिवेश सिर्जना गरेका थिए ।
साम्राज्यवाद र त्यसले थोपरेका उपनिवेशहरू एकपछि अर्को ढलिरहेका थिए । सोभियत रुसको परिवर्तनले भारतीय कम्युनिस्ट आन्दोलन असाध्यै निकट रूपमा प्रभावित थियो । यद्यपि स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको गलत भूमिकाको नकारात्मक प्रभाव जनमानसमा भिन्नै रूपमा छँदै थियो । त्यसको मार भारतीय कम्युनिस्ट आन्दोलनले आजपर्यन्त भोगिरहेको छ ।
नेपालमा प्रचण्ड गोरखा, प्रजा परिषद्, विराटनगर मजदुर आन्दोलन र जयन्तु संस्कृतम् आन्दोलनले पैदा गरेको राप, ताप, बलिदान र सङ्घर्षले चेतनशील तप्कामा जुर्मुराहट महसुस भइरहेको थियो । खास गरी प्रजा परिषद्ले नेतृत्व गरेको पर्चा काण्ड र त्यसपछि भएको दमन एवम् अमर सहिदहरूले गरेको बलिदानद्वारा काठमाडौँ उपत्यका उद्वेलित र जागृत थियो । अमर सहिद गङ्गालालका आफ्नै माइलो भाइ हुनुका कारणले यसको प्रत्यक्ष भुक्तभोगी कमरेड पुष्पलाल हुनुहुन्थ्यो ।
उहाँ नेपाल प्रजातन्त्र सङ्घ, नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव हुँदै उपत्यका र बनारसमा राजनीतिक सङ्घ सङ्गठनको सञ्चालनमा अनुभवी बन्दै अघि बढ्नुभएको थियो । खासमा कांग्रेसी खेमाभित्र डा. डिल्लीरमण रेग्मी र विश्वेश्वरप्रसाद कोइरालाबिच व्यक्तिवादी टक्कर र झैझगडा चलिरहेको थियो । त्यसलाई अत्यन्तै नजिकबाट अनुभूति गर्नुभएका पुष्पलाल तत्कालीन अन्तर्राष्ट्रिय परिवेश–सोभियत सङ्घ, चीन र भारतलगायत देश र विश्वव्यापी रूपमा भइरहेका नवजागरण, मुक्ति आन्दोलन, परिवर्तन र क्रान्तिका उर्लंदा भेल र माहोलबाट प्रभावित भएरै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्न अग्रसर हुनुभएको थियो ।
फलस्वरूप सन् १९४९ अप्रिल २२, तदनुरूप १० वैशाख २००६ का दिन भारतको पुरानो राजधानी कोलकातास्थित २८ नवीन सरकार लेन श्याम बजारमा पार्टी स्थापना भयो । पुष्पलालको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू हुनुहुन्थ्यो । त्यसकै निरन्तरताका रूपमा विभाजनका बाबजुद नेपाली कम्युनिस्ट आन्दोलन रहेको छ ।
नेपालको समग्र कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्दा कम्युनिस्ट पार्टीको न्यूनतम कार्यक्रमका बारेमा देखिएको उतारचढावलाई कसरी हेर्नुभएको छ ? जबजको विकास र विशिष्टता के हो ?
स्थापनाको बेला नागरिक स्वतन्त्रता र बालिग मताधिकारको पक्षमा उभिएर नेपाल कम्युनिस्ट पार्टी जहानियाँ राणा शासनको अन्त्यका निम्ति आफ्नै हिसाबले सङ्घर्षमा सहभागी हुन पुग्यो । दिल्ली सम्झौता र सन् १९५० को सन्धिले राणातन्त्र विरुद्ध सशस्त्र सङ्घर्षमा सक्रिय नेपाली कांग्रेसकै एउटा महत्त्वपूर्ण हिस्सा असन्तुष्ट हुन पुग्यो ।
डा. के.आई. सिंह, भीमदत्त पन्तजस्ता मुक्तियोद्धाहरू असन्तुष्ट भएको घटनासँगै अरू थुप्रै व्यक्तिलाई दिल्ली सम्झौतामा धोकाको अनुभूति भयो । फलस्वरूप देशव्यापी ठूलो हिस्सा व्यक्तिगत रूपमा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुन पुग्यो । निर्मल लामा, डीपी अधिकारी, मोहनविक्रम सिंह, भीमदत्त पन्तलगायतका व्यक्तिहरू नेपाल कम्युनिस्ट पार्टीमा सामेल हुने क्रम बढ्यो । यो एउटा उल्लेखनीय पक्ष देखिन्छ ।
वि.सं. २००८ सालमा कोलकातामा भएको प्रथम सम्मेलनदेखि नै नयाँ जनवाद नेकपाको न्यूनतम कार्यक्रम रहेको पाइन्छ । पार्टी स्थापना र प्रथम सम्मेलनका निष्कर्षहरूमा चिनियाँ क्रान्तिको प्रभाव तथा माओत्सेतुङद्वारा अघि सारिएको नौलो जनवादका गहन प्रभावहरू स्पष्टै थिए । त्यस स्थितिलाई नियन्त्रण गर्न मूलतः सोभियत सङ्घको सिधा र प्रत्यक्ष प्रभावमा रहेको भारतीय कम्युनिस्ट आन्दोलनले अलिक भिन्न भूमिका खेलिरहेको थियो । फलस्वरूप वि.सं. २००९ मा महोत्तरी, हाल धनुषाको बटेश्वरमा सम्पन्न नेकपाको विस्तारित बैठकले पुष्पलाललाई महासचिवबाट हटाएर सोभियत सङ्घ र चिनियाँ धुरीको बीच–बीचमा रहनुभएका मनमोहन अधिकारीलाई महासचिव चयन गर्याे । यो वास्तवमा न्यूनतम कार्यक्रमसँग सम्बन्धित विवादको मूल नेतृत्वमा अभिव्यक्त असरको परिणाम थियो भन्न सकिन्छ ।
पार्टीमाथिको प्रतिबन्ध हटाउन २००८ देखि २०१३ सालसम्म गर्नुपरेको सङ्घर्ष, नगरपालिका र संसदीय चुनावको उपयोग, संसद्को विगठन विरुद्ध पुनः स्थापनाको माग आदि सन्दर्भले पार्टीको चिन्तन पद्धतिलाई प्रस्ट्याउँछन् । रुस र चीनबिच अन्तर्राष्ट्रियरूपमा बढेको विवादको प्रत्यक्ष प्रभाव नेपालमा देखिनु अस्वाभाविक थिएन ।
वि.सं. २०१९ को तेस्रो महाधिवेशनद्वारा पारित ‘राष्ट्रिय प्रजातन्त्र’ तथा वि.सं. २०२५ को तेस्रो सम्मेलनद्वारा पारित नयाँ जनवाद, तुलसीलाल अमात्य र पुष्पलालले नेतृत्व गरेका दुई भिन्न न्यूनतम कार्यक्रम आधारित धार रहेका पाइन्छन् । सुरुमा ‘राजतन्त्र’ र ‘गणतन्त्र’ तथा पछि रुसी र चिनियाँ धुरीबिच यो विभाजन अभिव्यक्त हुनपुगेको थियो । ‘राजतन्त्र’ र रुसी धुरीको नेतृत्व केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर, कृष्णराज वर्मा, तुलसीलाल अमात्य आदि नेताहरूले गरेको देख्न सकिन्छ ।
कालान्तरमा रायमाझी दरबारको हितमा परिचालित हुँदै राजसभा स्थायी समितिको सभापति भएर पतन नै हुनपुगे । अरू नेताहरूले रुसी धुरीलाई पछिसम्म सञ्चालन गरेको देख्न सकिन्छ । ‘राष्ट्रिय प्रजातन्त्र’ हुँदै यस धारले वि.सं. २०५४ मा ‘राष्ट्रिय जनवाद’ लाई क्रान्तिको न्यूनतम कार्यक्रमका रूपमा स्वीकारेको थियो र वि.सं. २०७४ मा नेकपा (माओवादी केन्द्र) मा यो धार एकताबद्ध भयो ।
२०३७ सालको जनमत सङ्ग्रहमा कमीकमजोरीका बाबजुद बहुदलको पक्षपोषण तथा जनसङ्गठन निर्माण र परिचालनको निर्णय निकै उल्लेखनीय सैद्धान्तिक रूपान्तरण थियो । यद्यपि लामो समयसम्म नयाँ जनवाद पक्षधर पुष्पलाल, झापा विद्रोह, केन्द्रीय न्युक्लिअस र चौथो महाधिवेशनका धारले माओ विचारधारा, माओवाद र नयाँ जनवादी क्रान्तिलाई स्वीकार र अवलम्बन गरे । यस धारमा विभाजन र एकताको लामो शृङ्खला रहेको छ । झापा विद्रोहको धारमा मूलतः ‘शान्ति क्षेत्रको प्रस्तावलाई हेर्ने दृष्टिकोण’ र ‘राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता’ र २०४३/२०४४ को जनपक्षीय हस्तक्षेपअन्तर्गत पञ्चायती निर्वाचनको उपयोगको कार्यनीतिले भिन्न निष्कर्ष र परिवेश सिर्जना गर्याे ।
परिणामस्वरूप माओ विचारधारा हटाउने, बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई स्वीकार गर्ने र नेपालको मौलिक विशेषताअनुसार मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने प्रक्रियामा पहिले नेकपा (माले) र पछि नेकपा (एमाले) अग्रसर भए । २०४६ भदौमा सम्पन्न चौथो महाधिवेशनमा बहुदलीय प्रतिस्पर्धासहितको जनवादको अवलम्बन महत्त्वपूर्ण वैचारिक सिफ्ट थियो र त्यसैको निरन्तरताका रूपमा २०४९ माघमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले यस प्रक्रियालाई पार्टी र आमजनसमुदायको तहमा समेत बृहत् बहस सञ्चालन गरी जनताको बहुदलीय जनवादलाई संस्थागत निष्कर्षमा पुर्याउने काम गर्याे ।
यसरी जबजको विकासको ऐतिहासिक र निर्णायक मोड पाँचाैँ राष्ट्रिय महाधिवेशन (२०४९) थियो । जहाँ मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’, सी.पी. मैनालीद्वारा प्रस्तुत ‘परिमार्जित नौलो जनवाद’, मोहनचन्द्र अधिकारीद्वारा प्रस्तुत ‘नौलो जनवाद’, रघु पन्तद्वारा प्रस्तुत ‘सामाजिक जनवाद’ र बद्री खतिवडाद्वारा प्रस्तुत ‘वातावरणीय जनवाद’ मूलतः पाँचखाले विचारमा बहस र विमर्श गरी भारी मतले ‘जनताको बहुदलीय जनवाद’ पारित भयो ।
सोभियत सङ्घको विगठन र समाजवादको पतनपश्चात् सिर्जित नयाँ विश्व परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलन जनसूत्रवाद र विसर्जनवादको विरोध तथा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न अभिप्रेरित र निर्देशित भयो । पुष्पलालले जोड दिनुभएको ‘संयुक्त जनआन्दोलन’ मार्फत पञ्चायती तानाशाहीको अन्त्य गर्ने सही नीतिको कार्यान्वयन २०४६ मा र २०१७ पछि अघि सारेको ‘विगठित संसद् पुनः स्थापना’ को माग २०६२/२०६३ को आन्दोलनपश्चात् कार्यान्वयन गरियो र २००७ सालदेखि अनिर्णीत रूपमा रहेको संविधान सभाको निर्वाचन २०६४ र २०७० सालमा सफलतापूर्वक सम्पन्न भई नयाँ संविधान जारी गर्न सम्भव भयो ।
वि.सं. २००८ सालमा काठमाडौँ नगरपालिकाको निर्वाचनमा विजय, २०१५ सालमा ४ स्थानमा संसद्मा विजय र जनपक्षीय हस्तक्षेपअन्तर्गत राष्ट्रिय पञ्चायतमा ५ स्थानमा विजय तथा स्थानीय निकायमा १० हजारभन्दा बढी जनप्रतिनिधिहरूमा जनपक्षीय उम्मेदवारहरूको विजय, २०४८ सालमा प्रमुख प्रतिपक्ष, २०५१ सालमा एकल कम्युनिस्ट सरकारको गठन र सञ्चालन, २०५४ को स्थानीय निर्वाचनमा राष्ट्रव्यापी दिग्विजयमा जबजको परीक्षण र सही प्रयोगका प्रक्रियाहरू अघि बढे । आफ्नै अयोग्यता, नालायकी र विरोधीको उक्साहट र दुरुपयोगले पार्टी विभाजन भएको कारणले २०५६ सालमा बहुमतको कम्युनिस्ट सरकार गठन गरेर शक्ति सञ्चय गर्दै प्रगतिशील सुधारका काम गर्ने घोषित लक्ष–उद्देश्य कार्यान्वयन गरेर अघि बढ्न सम्भव भएन ।
वि.सं. २०५८ को राजदरबार हत्याकाण्ड, वि.सं. २०५९ असोज १८ र वि.सं. २०६१ माघ १९ गतेका घटना परिघटनाहरूले आन्दोलनका सामु थुप्रै सङ्कट, प्रतिकूलता, दमन र प्रतिरोधका शिलशिला सिर्जना भए । वि.सं. २०५२ सालदेखि ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’, ‘सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन’ ‘दुस्मनको रगतले आफ्नो हात नरङ्गिएको व्यक्ति कम्युनिस्ट हुन सक्दैन’ ‘सहिदको पङ्तिमा लामबद्ध बनौँ !’ भन्दै ‘जनयुद्ध’ थालनी गरेको नेकपा (माओवादी) समेत वि.सं. २०६१/२०६२ को शान्तिपूर्ण जनक्रान्तिलाई शान्तिपूर्ण ढङ्गले सहयोग गर्ने बिन्दुमा आइपुग्यो ।
वि.सं. २०६२ मङ्सिर ७ गते १२ बुँदे समझदारीले ‘हिंसाको शान्तिपूर्ण अवतरण र निरङ्कुशताको गणतान्त्रिक निकास’ लाई आधार प्रदान ग¥यो । अनि १९ दिन लामो शान्तिपूर्ण जनक्रान्तिमार्फत विगठित प्रतिनिधिसभाको पुनः स्थापना, प्रतिनिधिसभाको घोषणा र संविधानसभाको सङ्कल्प साकार पार्ने प्रक्रिया अघि बढ्यो ।
मदन भण्डारीले वि.सं. २०४७ को संविधानमा प्रस्तुत गर्नुभएका आलोचनाका २७ बुँदाहरूलाई जस्ताको तस्तै समावेश गरी वि.सं. २०६३ जेठ ४ गते प्रतिनिधिसभा घोषणा जारी भयो । तत्पश्चात् अन्तरिम संसद्, अन्तरिम सरकार गठन गर्दै २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । जसले राजतन्त्रलाई निलम्बन गरी क्रमशः किनारातर्फ धकेल्ने काम गर्याे । अनि संविधानसभाको निर्वाचन हुँदै वि.सं. २०६५ जेठ १५ गते मुलुकलाई औपचारिक रूपमा संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो ।
उल्लिखित परिवर्तन र उपलब्धि मूलतः जबजको वैचारिक मार्गदर्शन, संयुक्त जनआन्दोलन, शान्तिपूर्ण जनक्रान्ति र १० वर्ष लामो जनयुद्धको जग र संयुक्त बलमा सम्भव भएको वस्तुगत यथार्थ हो । यस विन्दुसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनमा न्यूनतम कार्यक्रमका अनेक रूपहरू देखिन्छन्–नौलो जनवाद, नयाँ जनवाद, राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम, देशभक्त जनतान्त्रिक शक्तिहरूको सरकार, बोधिसत्त्व जनवाद, जनताको बहुदलीय जनवाद, परिमार्जित नौलो जनवाद, सामाजिक जनवाद, वातावरणीय जनवाद, राष्ट्रिय जनवाद, एक्काइसौँ शताब्दीमा जनवादको विकास र जनताको जनवाद आदि ।
नेपाल मजदुर किसान पार्टीले नारायणमान बिजुक्छे ‘रोहित’को नेतृत्वमा जनवादी क्रान्ति नभएर समाजवादी क्रान्तिलाई न्यूनतम कार्यक्रमका रूपमा स्वीकार गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादलाई न्यूनतम कार्यक्रम बनाएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वि.सं. २०७५ जेठ ३ गते ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काइसौँ शताब्दीमा जनवादको विकास’ दुवै कार्यक्रमलाई स्थगन गरी समाजवादको आधार तयार गर्न ‘जनताको जनवाद’ लाई न्यूनतम कार्यक्रम स्वीकार गरेका छन् । यसको कुनै लिखित दस्ताबेज उपलब्ध छैन र यो खासमा पूर्ण दस्ताबेजरहित र निराकार रहेको छ ।
समग्रमा जबज नेपाली समाजको क्रान्तिकारी परिवर्तनको वैज्ञानिक कार्यक्रम र सिद्धान्त हो । यसले प्रतिस्पर्धामा श्रेष्ठ ठहरिँदै समाज रूपान्तरण र परिवर्तनमा जोड दिएको छ । कम्युनिस्ट पार्टी र सत्ताले विगतमा गरेका गलत अभ्यास जस्तो कि–सर्वहारा अधिनायकत्वको गलत प्रयोग, जनताको नाममा नेता र कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय कमिटीका नाममा पोलिटब्युरो र पोलिटब्युरोका नाममा महासचिवको व्यक्तिगत अधिनायकत्वबाट मुक्त गरेर जनवादी अभ्यासको दायरा विस्तार गर्ने र जनअनुमोदनको माध्यमबाट पार्टी र सरकारको नेतृत्व गर्ने मान्यता जबजले नेपालको सन्दर्भमा प्रस्तुत र अभ्यास गरेको छ ।
यो यस सिद्धान्तको मौलिकता र विशिष्टता हो । जनताबाट अनुमोदित कार्यकर्ता र कार्यकर्ताबाट अनुमोदित नेतृत्व निर्माण यसको विशिष्ट मान्यता रहेको छ । नेपालमा जबजको प्रतिपादन र प्रयोग नभएको भए नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी विसर्जन र उग्र वामपन्थी विचलनको दुष्चक्रमा फसेर भयानक रूपमा सङ्कटग्रस्त स्थितिमा गुज्रने तथा आजको निर्णायक हैसियत हासिल गर्न सम्भव हुने थिएन ।
नेपालको राजनीतिक परिवर्तनमा कम्युनिस्ट आन्दोलनको योगदान के हो ? र यसमा जबजको भूमिका कहाँनेर रहेको छ ?
नेपाल कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक परिवर्तनमा वि.सं. २००७ सालमा सहयोगी, वि.सं. २०४६ सालमा बराबरी र २०६२/२०६३ मा मुख्य र निर्णायक भूमिका निर्वाह गरेको छ । वि.सं. २०१७, २०३६, २०४२, २०४६ र २०६२÷२०६३ का घटनाक्रमपश्चात् कम्युनिस्ट आन्दोलनका सही नीति र योजनाले कालान्तरमा सफल परिणाम हासिल गरेका छन् । वि.सं. २०७२ असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्य भूमिका निर्वाह गरेर सफलता प्राप्त गरेको तथ्यसमेत जगजाहेर नै छ ।
यस प्रक्रियामा सैद्धान्तिक प्रस्टता र वैचारिक निष्कर्षको सहीपनाका हिसाबले जबजको मूल भूमिका रहेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतासम्म आइपुग्दा राजाको निरङ्कुशताको अन्त्य र गणतन्त्रको स्थापना, हिंसाको परित्याग र शान्तिपूर्ण राजनीतिक निकास, संविधानसभामार्फत नयाँ संविधान निर्माण र घोषणा, सुखी नेपाली : समृद्ध नेपाल निर्माणको वैचारिक लक्ष्य निर्धारण तथा शान्तिपूर्ण र प्रतिस्पर्धामार्फत समाजवाद उन्मुख कार्यनीतिको वैचारिक दिशाबोध जबजकै कारण सम्भव भएको छ । शक्ति आर्जन, सङ्घर्ष र प्राप्त सफलता र विजयको प्रक्रियामा गलत निष्कर्ष र बाटो भए तापनि ‘जनयुद्ध’ को क्रममा सङ्गठित त्याग र बलिदानको भूमिका परिवर्तनको यस प्रक्रियामा महत्त्वपूर्ण रहेको स्पष्ट नै छ ।
तपाईँले मदन भण्डारीका छरिएका रचनाहरू सङ्कलन र सम्पादन गरी ‘मदन भण्डारीका सङ्कलित रचनाहरू’ व्यवस्थित गर्ने महत्त्वपूर्ण काम गर्नुभएको पाइन्छ । यस सन्दर्भमा जबजको आलोचना, समर्थन र स्वीकार्यताको अवस्था कस्तो रहेको छ ? स्पष्ट पारिदिनुहोस् ।
निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । जननेता मदन भण्डारीका वैचारिक, सैद्धान्तिक, साहित्यिक र सार्वजनिक तथा संसद्मा अभिव्यक्त मन्तव्यसमेत ‘मदन भण्डारीका सङ्कलित रचनाहरू भाग–७, छानिएका रचना र सेलक्टेड वर्कस (नेपाली अङ्ग्रेजी खण्ड), जीवनीमा आधारित व्यक्तित्व र कृतित्व गरी १० खण्डमा पुस्तकहरू प्रकाशित गरिएको छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठान गोठाटार, काठमाडौँले यस शृङ्खलाको प्रकाशन गरेको हो र सम्पादनको काम मैले गरेको हुँ । जीवनी र व्यक्तित्वचाहिँ स्नातकोत्तर तह नेपाली विषयको शोध प्रयोजनका लागि सुवर्ण वलीले गर्नुभएको थियो । यस ढङ्गले एउटै झोलामा मदन भण्डारीका सम्पूर्ण रचनाहरू व्यवस्थित र प्रकाशित गर्ने जिम्मेवारी प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बहन गर्नुभएको स्पष्ट गर्न चाहन्छु ।
यस कार्यबाट मदन भण्डारीलाई उहाँकै रचना, अभिव्यक्ति र योगदानका आधारमा अध्ययन विश्लेषण र मूल्याङ्कन गर्न सम्भव भएको छ । मुख्य रचनाहरूको छानिएको खण्ड र अङ्ग्रेजी अनुवादले उहाँलाई पढ्न अन्तर्राष्ट्रिय रूपमा समेत सहज र सम्भव भएको छ । यो जिम्मेवारी बहन गर्न पाउँदा मलाई ज्यादै छु र सन्तोष लागेको छ । यो खासमा मेरो जीवनकै एउटा उल्लेखनीय काम हो भन्ने महसुस गरेको छु । यस निम्ति मैले दिएको समयमा त मैले विद्यावारिधि उपाधि हासिल गर्न सक्थेँ । तर, दुर्लभ रचना खोजी गरेर कतिपय पूर्वप्रकाशित कृतिहरूलाई समेत प्रतिष्ठानको योजनामुताबिक सङ्कलित रचनाहरूको व्यवस्थित संरचनामा प्रस्तुत गरिएको छ । मैले निःशुल्क रूपमा यो काम गरेको प्रस्ट गर्दछु ।
जहाँसम्म जबजको आलोचना, समर्थन र स्वीकार्यताको पक्ष हो, यसमा गज्जबको विरोधाभास र रोचक परिवेश देख्न सकिन्छ । वि.सं. २०४९ साल माघमा जबज ५४३ मत प्राप्त गरी पाँचौँ महाधिवेशनबाट पारित भयो, जबकि परिमार्जित नौलो जनवादले १०१, नौलो जनबादले ५५ र सामाजिक जनबादले शून्यमत प्राप्त गरेको स्थिति थियो ।
यस हिसाबले पार्टीव्यापी रूपमा जबजले भारी समर्थन र विश्वासको लोकप्रिय मत हासिल गरेको स्थिति रह्यो । तर वि.सं. २०५० जेठ ३ गते दासढुङ्गा हत्याकाण्डमा मदन भण्डारीको असामयिक निधन भयो । पार्टीको विचारका रूपमा जबजले ५ महिना पूरा गर्दानगर्दै यसका प्रस्तोता, भाष्यकार, व्याख्याता र सिद्धान्तवेत्ताको अवसानले जबजको विकास र समृद्धिमै भयानक प्रतिकूलता सिर्जना हुन पुग्यो ।
यद्यपि शोकलाई शक्तिमा बदल्ने सङ्कल्पका साथ वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा उहाँले नेतृत्व गरेको पार्टी नेकपा (एमाले) ले अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा ९ महिनासम्म लोकप्रिय सरकार सञ्चालन ग¥यो । यसले जबजको व्यवहारिक प्रयोग, परीक्षण र विकासमा अनुकूल परिस्थिति र सकारात्मक आधार प्राप्त भयो ।
पार्टीभित्र जबजको समर्थनमा भारी मत रहे तापनि नेतृत्व तहमा सशक्त विरोधको स्थिति थियो । यस शिलशिलामा दुई खाले प्रवृत्ति देख्न पाइन्छ–पहिलो जबजलाई अस्वीकार गर्ने गरी असफल पार्न प्रयत्नरत थुप्रै नेताहरूका रचना यस पङ्तिमा सुरक्षित छन् । झलनाथ खनालले जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ को संज्ञा दिनुभएको अन्तर्वार्ता, कृष्णदास श्रेष्ठको ‘जबजको क्रान्ति विरोधी सारतत्व’ नामक पुस्तिका, मोहन वैद्य ‘किरण’ को ‘एमाले गुटको प्रतिक्रियावादमा पतन : एक शल्यक्रिया’ नामक पुस्तिका, मोहनविक्रम सिंह, पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, सीपी मैनाली, घनश्याम भुसालगायत थुप्रै नेता कार्यकर्ताहरू वि.सं. २०४९ देखि २०५४ को कालखण्डमा जबज विरुद्ध तिखो प्रहार र आलोचनामा सक्रिय रहेको पाउन सकिन्छ ।
वि.सं. २०५४ को छैठौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा सी.पी. मैनाली र रघु पन्तले जबजलाई स्वीकार गर्नुभएको देखिन्छ । झलनाथ खनालले कृषि क्रान्तिअन्तर्गत ‘क्षतिपूर्ति’ को व्यवस्था र शासन प्रणालीअन्तर्गत ‘बहुमतको सरकार अल्पमतको विपक्ष’ मा आफ्नो असहमति रहेको बताउने गर्नुभएको पाइन्छ । यसरी छैठौँ महाधिवेशन कार्यक्रमिक प्रश्नमा एकता र कार्यनीतिक विवादको महाधिवेशन बन्न पुग्यो ।
‘शक्ति सञ्चय र प्रगतिशील सुधार’ का कार्यनीति बिचको विवादमा महाकाली संधिसमेत मिसिएर पार्टी नै विभाजित भयो । तथापि महाधिवेशनले जबजलाई कार्यक्रमको रूपमा सर्वसम्मतिका साथ अघि बढाउँदै नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्वीकार ग¥यो । यो महत्त्वपूर्ण उपलब्धि थियो । सातौँ राष्ट्रिय महाधिवेशन (२०५९) ले जबजलाई सिद्धान्तकै रूपमा निरन्तरता दिने निर्णय ग¥यो । वि.सं. २०६५ को आठाैँ राष्ट्रिय र वि.सं. २०७० को नवौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा जबजलाई ‘नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त’ ‘नेपाली सन्दर्भमा मार्क्सवाद’ का रूपमा व्याख्या, विश्लेषण र संश्लेषण गरिएको छ ।
केन्द्रीय कमिटीका तर्फबाट गरिएको यस दस्ताबेजको मस्यौदा, प्रस्तुति, विश्लेषण र संश्लेषण तत्कालीन महासचिव र अध्यक्ष झलनाथ खनालले गर्नुभएको थियो । यतिञ्जेल घनश्याम भुसाल ‘जबजसँग मेरो यात्रा’ रचनासहित आठौँ राष्ट्रिय महाधिवेशनमा नै जबजलाई सिद्धान्त बनाउनुपर्ने पूरक प्रस्ताव प्रस्तुत गरी जबजको समर्थनको पङ्तिमा उभिएको देख्न सकिन्छ ।
अर्कोतिर भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा खुल्ला हुने क्रममा तिनाउ एफ.एम. बुटवललाई अन्तर्वार्ता दिँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र मदन भण्डारीबिच छिट्टै भेट गर्ने सहमति जेठ १ वा २ गते भएको तर भेट्नै नपाई उहाँको दासढुङ्गामा निधन भएकाले विचार आदानप्रदान हुन नसकेको बताउनु भएको थियो । यदि त्यो भेट भएको भए नेपाली कम्युनिस्ट आन्दोलनको डिस्कोर्स नै भिन्न हुनेथियो भन्ने विश्वास पहिलो पटक सार्वजनिक रूपमा व्यक्त गर्नुभएको थियो ।
यसरी सकारात्मक प्रतिक्रियाका साथ सार्वजनिक रूपमा प्रस्तुत उहाँले पार्टी एकताको बिन्दुसम्म आइपुग्दा जबजका अन्तर्वस्तुलाई स्वीकार गर्नुभएको छ र रूपमा भने सिङ्गो कार्यक्रम र वैचारिक अवधारणालाई स्वीकार गर्नचाहिँ भिन्न समूह सञ्चालनको लामो अभ्यास र आफ्नो अलग भूमिका देखाउने आकाङ्क्षाले समस्या पारेको छ । यस सम्बन्धमा बहस छलफल चलाउँदै जाने सहमति भएको छ ।
यस विन्दुमा आइपुग्दा ‘जबजको च्याप्टर क्लोज’ भयो, यो कालातीत विचार भइसक्यो र न्यूनतम कार्यक्रम समाजवाद हो भनेर यसलाई अस्वीकार र निषेध गर्नेसम्मका प्रवृत्ति र रवैयासमेत देखा परेका छन् । आम रूपमा जबजको अन्तर्वस्तु र योगदानलाई चाहिँ स्वीकार गरिएको छ तर मार्क्सवादमै मौलिक र नवीन विकास हो वा होइन भन्ने विवाद जारी छ । यद्यपि जबज मार्क्सवाद को प्रयोग, विकास र कार्यान्वयनमा परम्परागत शास्त्रीय अभ्यासको निरन्तरतामा हेर्दा नयाँ, मौलिक र नवीन सिद्धान्त हो ।
दोस्रो जबजको अतिरञ्जनाको प्रवृत्ति रहेको छ । यस प्रवृत्तिले जबज विश्व ब्रह्माण्डमा समेत लागू हुने व्याख्या र दावा गरेको पाइन्छ । कतिपयले यसलाई आत्मिक नेतृत्वका रूपमा र कतिपयले मदन विचारधारा बनाउन सकिने समेत बताएकोसम्म पाइन्छ । अचम्मको कुरा मदन विचारधारा बनाउन लेख लेख्ने महानुभावहरू मधेसी फोरम हुँदै नेपाली कांग्रेसमा आराम गर्न पुगेका देखिन्छन् । जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त वा नेपाली सन्दर्भमा मार्क्सवादका रूपमा व्याख्या–विश्लेषण गर्दा समेत भावुकता, आत्मिक निकटता वा अतिरञ्जना मुक्त भई वस्तुनिष्ठ योगदान र यथार्थ भूमिकाको आधारमा मूल्याङ्कन गरिनुपर्दछ र निर्विवाद तर्क, तथ्य र दृष्टान्तहरू प्रस्तुत गरिनु पर्छ ।
नेकपाभित्र जबजलाई बुझ्ने र व्याख्या गर्ने समस्या छ । यो तीनथरि रवैयामा देखिने गरेको छ । खासगरी यसलाई गजब, लवज र जबजका रूपमा बुझ्नेहरू रहेका छन् । एकथरिले आफ्नो व्यक्तिगत र गुटगत स्वार्थका लागि जबजलाई ‘गजब’ का रूपमा रटान गर्ने गर्दछन् । अर्कोथरिले जबजलाई लवजमा सीमित गर्ने गरेका छन् । यी दुबैखाले प्रवृत्तिसँग सैद्धान्तिक र विचारधारात्मक सङ्घर्ष गरी जबजको प्रयोग, विकास र समृद्धिमा इमानदारीपूर्वक योगदान गर्नुपर्दछ ।
राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना हुँदैमा जबज असान्दर्भिक र कालातीत विचार हुन पुगेको छैन । जबजको कार्यक्रमिक मान्यतासमेत पूर्ण कार्यान्वयन गर्न ध्यान दिनुपर्छ । त्यसैले यसलाई व्यवहारतः लागु गरेर अघि बढ्नुपर्दछ । जबजको कार्यान्वयन नै नगरी एउटा मोडमा आइपुगेर त्यसका सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक अवधारणा, मान्यता र उपलब्धिहरूलाई नजरअन्दाज गर्न मिल्दैन ।
कुन मान्यताको जग र बलमा उभिएर यहाँसम्म आइपुगेको हो भन्ने हेक्का राखेरै प्राप्त उपलब्धि र सफलताको जगमा समाजवाद उन्मुख हुन् र समाजवादका आधार तयार गर्न सकिन्छ । पुँजीवादी जनवादी चरणका जबज आधारित घोषित कार्यक्रम लागू नगरेर वा सामन्तवादका सम्पूर्ण अवशेष अन्त्य नगरी समाजवादको आधार तयार गर्न सम्भव हुँदैन । तसर्थ: पुँजीवादी जनवादी चरणका कार्यक्रम कार्यान्वयन गरेर समाजवाद उन्मुख हुनसमेत यो ‘जनवादबाट समाजवादमा रूपान्तरण’ को एउटा विशेष कार्यदिशा, कार्यक्रम र सैद्धान्तिक मार्गदर्शन हुन सक्दछ । पूर्वाग्रह र प्रतिशोधले सही निष्कर्षमा नपुर्याउने निश्चित नै छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा नेतृत्व गरिएका सरकारहरूको नीति तथा कार्यक्रममा जनताको बहुदलीय जनवादको योगदानबारे बताइदिनुहोस् ?
क्रान्तिपूर्व पनि सरकारमा जान र सरकारको तहबाट जनता र राष्ट्रको हितमा काम गर्न जबजले ढोका खुल्ला गरेको त स्पष्टै छ । अन्यथा वि.सं. २०४६ पछिको २६ वर्षसम्म क्रान्तिपूर्व सरकारमा जानु वा सरकारमा सहभागी हुनु दक्षिणपन्थी संशोधनवाद हो भन्ने बुझाइ र व्याख्याअन्तर्गत क्रियाशील नेपाल कम्युनिस्ट पार्टी (मसाल) द्विविधा र भ्रममा पर्दै आएको थियो ।
संसद्को उपयोग, विरोध र भण्डाफोरका लागि मात्र हो भन्ने बुझाइ र अभ्यास नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), नेपाल मजदुर किसान पार्टी र नेकपा (मसाल) को रही आएको थियो । वि.सं. २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि नेकपा (मसाल) का नेता चित्रबहादुर के.सी. उपप्रधान तथा गरिबी निवारण मन्त्री हुनु भएपछि यो विवादको एक हिसाबले छिनोफानो भयो । वि.सं. २०६३ असारमा अन्तरिम सरकार र अन्तरिम संसद्मा नेकपा (माओवादी) सहभागी भएर भण्डाफोरको सीमासम्म मात्रै सरकार र संसद्को उपयोगको लक्ष्मण रेखा अन्त्य गरिएको स्पष्टै छ ।
नेपाल मजदुर किसान पार्टी अझै सरकारमा सहभागिताको प्रश्नमा विरोध र आलोचनाको तहमा सीमित छ । यद्यपि भक्तपुर नगरपालिकामा उसले निरन्तर विजय र नेतृत्व सञ्चालनको लामो अनुभव हासिल गरिरहेको छ । प्रतिपक्ष हुन्छौँ भनेर नेतृत्व बाहिर आलोचना र विरोधको भूमिकामा छैन ।
सरकारले अपनाएका जनपक्षीय, लोककल्याणकारी, जन सहभागितामूलक विकासको अवधारणा र सर्वोपरि रूपमा जनतामा लोकप्रिय कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा स्पष्टता जबजकै योगदान हो । ‘आफ्नो गाउँ आफै बनाऔँ’, ‘नौ स’ कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, जनता आवास कार्यक्रम, जनताको लागि तटबन्ध कार्यक्रम, गाउँ–गाउँमा सहकारी: घर–घरमा रोजगारी आदि कार्यक्रम जनताको मन जित्न र जनअनुमोदनमा अब्बल साबित हुन नै अघि सारिएको स्पष्ट छ ।
शास्त्रीय मार्क्सवादले जनादेश प्राप्त गरेर सरकार बनाउने र लोकप्रिय काम गरेर निरन्तर जन अनुमोदित हुने अवधारणालाई खासै प्रमुखता दिएको छैन । तसर्थ नेपालको वस्तुगत परिवेशमा आधारित भएर यहाँको कम्युनिस्ट आन्दोलन मौलिक, रचनात्मक र लोकप्रिय आन्दोलनका रूपमा अघि बढ्न सक्नुपर्दछ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच पार्टी एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको बहुदलीय जनवादको अन्तर्वस्तुलाई आत्मसात् गरेको उल्लेख गरेको छ तर क्रान्तिको न्यूनतम कार्यक्रम जनताको जनवाद उल्लेख गरेको छ । अब जनताको बहुदलीय जनवादको भविष्य के होला ?
यो पार्टी एकताको क्रममा गरिएको गम्भीर भूल हो । जबजको अन्तर्वस्तु स्वीकार गर्ने तर जबजलाई स्थगन गरी रूप, अन्तर्वस्तु र आकार नै नभएको निराकार जनताको जनवादलाई न्यूनतम कार्यक्रम उल्लेख गर्ने यस गल्तीले पार्टीलाई वैचारिक अन्योल, द्विविधा र गन्जागोलतर्फ धकेल्ने काम भयो, वैचारिक विकास र शृङ्खलाबद्ध चिन्तन प्रक्रियाको कडी यहाँनेर आइपुग्दा टुट्न पुगेको छ ।
वैचारिक सङ्कीर्णता र गुटगत स्वार्थ तथा व्यक्तित्व टकरावको एकखाले राजनीतिक ‘इगो’ अर्थात् जुँघाको लडाइका कारण यस्तो स्थिति हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि जबजको सही प्रयोग, विकास र समृद्धि अनिवार्य थियो र छ । यसको नेतृत्वकारी हैसियतलाई अवमूल्यन, उपेक्षा र नजरअन्दाज गरेर आन्दोलन सुदृढ, बलियो र निर्णायक हुन सक्दैन । खासगरी विगत वि.सं. २०४६–५० तिर कयौँ मूर्धन्य कम्युनिस्ट व्यक्तित्वहरूले जनताको मत प्राप्त गरी बहुमत हासिल गर्ने कल्पनासम्म गरेको पाइँदैनथ्यो । दुई तिहाइ बहुमतको सपना देख्ने कुरा त परै जाओस् !
समाजवादलाई न्यूनतम कार्यक्रम मान्ने नेमकिपा किन ५६,१४१ (०.५८%) मत प्राप्त गरी धिपधिपे दियोजस्तो भइरहेको छ ? माओवाद र नौलो जनवादी क्रान्तिको प्रबल हिमायती नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको मोर्चा किन १३ हजार हाराहारी मतमा सीमित भएको छ ? माओ विचारधारा र नौलो जनवादी क्रान्तिको पक्षधर नेकपा (मसाल) (राजमो) किन ६२,१४१ (०.६५%) मतमा सीमित हुन बाध्य छ ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैचारिक अन्योलको सिर्जित यस भुमरीबाट मुक्त भएर जबजका योगदानहरू स्वीकार गर्ने, सिद्धान्तको तहमा योगदान गर्ने मान्यतालाई स्वीकार र निरन्तरता दिने, कार्यान्वयनको तहमा रहेका कार्यक्रमिक योजनाको कार्यान्वयन गर्ने र मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास तथा नेपाली क्रान्तिको अन्धानुकरण र शास्त्रीय मान्यतायुक्त नेपाली मौलिक मोडेल, लक्ष, उद्देश्य र सिद्धान्त विकास गर्न ध्यान दिनैपर्छ ।
जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीमा जनवादको विकासका मूल योगदानहरूलाई समेटेर जनताको जनवाद नयाँ पदावली निर्माण गर्ने हो भने पनि मूल पक्ष अस्वीकार गरेर त हुन सक्दैन । यस परिप्रेक्ष्यमा जहाँसम्म ‘जनताको जनवाद’ को प्रश्न हो, नयाँ जनवादी चरणको कार्यक्रमका रूपमा ‘बहुदलीय पदावली’ किन अपाच्य भएको छ ? जबकि वहुलतायुक्त, बहुलवादी खुल्ला समाजको अन्तर्वस्तु र यथार्थ स्वीकार गर्ने, अनि सर्वहारा अधिनायकत्वको गलत प्रयोगको विगत बदनाम परम्परालाई निरन्तरता दिने यो मान्यता जबजको विकास अघिकै माओकालीन चिनियाँ नौलो जनवादको अवधारणा हो । यसले हाम्रो आन्दोलनलाई सही रूपमा दिशाबोध, नेतृत्व र मार्गदर्शन गर्न सक्दैन ।
जनवादी चरणका घोषित कार्यक्रम लागू गर्ने अनि समाजवादको आधार तयार गर्ने, त्यसै क्रममा सामन्तवादका अवशेषहरूको समूल अन्त्य गरेर समाजवादमा सङ्क्रमण गर्ने शान्तिपूर्ण क्रान्तिको बाटो जबजबाहेक अर्को कुन छ ? नेतृत्वले देखाउन सकेको छैन । यसमा वैचारिक स्पष्टता र लक्ष उद्देश्य आधारित हुन अत्यन्त आवश्यक छ ।
तसर्थ: एकीकृत पार्टी र आन्दोलनले जबजको भविष्यमा नै नेकपाको भविष्य निहित रहेको तथ्य आत्मसात् गर्नुपर्दछ । नेतृत्वमा नहुँदा जबजको विरोध, भर्त्सना र तेज बोध गर्ने वा नेतृत्वमा पुगेपछि जबजलाई सिद्धान्त बनाउनु पर्छ, यो मार्गदर्शक सिद्धान्त बन्न सक्छ र नेपालको सन्दर्भमा मार्क्सवाद नै हो भन्ने खालका विरोधाभासहरू हटाएर वस्तुगत यथार्थअनुरूप अघि बढ्दा जबज असान्दर्भिक भएको छैन । जबसम्म एकदलीय अधिनायकवादबाट प्रभावित र प्रेरित नहुने हो भने जबजको अपरिहार्यतालाई अस्वीकार गर्न सम्भव छैन । यसको भविष्य उज्ज्वल र निर्विवाद छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको अबको कार्यदिशा के हो ?
विगत ७० वर्षका उपलब्धिहरूलाई संस्थागत गरेर संविधान सभाद्वारा जारी नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यव्यवस्था उल्लेख गरेको छ । बलपूर्वक क्रान्ति नभएर शान्तिपूर्ण प्रतिस्पर्धा र जनअनुमोदनको बाटो अघि बढ्ने प्रक्रिया भनेको जबजकै सैद्धान्तिक बाटो र मार्गदर्शन हो ।
जनवादी चरणका ठोस कार्यक्रम कार्यान्वयनबाट समाजवादका आधार तयार गर्दै शान्तिपूर्ण रूपमा समाजवादमा सङ्क्रमणको लागि यो कार्यदिशा छाडेर, यसबाट पछाडि हटेर वा अनुचित पूर्वाग्रह पालेर, सङ्कीर्णता प्रदर्शन गरेर, जबजको योगदान र भूमिकाप्रति आँखा चिम्लेर, जबजभन्दा सही कार्यदिशा विकास गरेर होइन, व्यक्तिगत टकराब वा बहस छलफल नै नगरी जबजलाई छापामार शैलीमा स्थगन गरेर नेपाली कम्युनिस्ट आन्दोलनले सही कार्यदिशा हासिल गर्न सक्दैन ।
आजका तमाम सैद्धान्तिक र व्यवहारिक समस्याको समाधान शास्त्रीय मार्क्सवादका पुस्तक र बनिबनाउ सूत्रहरूले दिन सक्दैनन् । यस निम्ति जबजको वैचारिक क्षितिज र चिन्तन पद्धतिमा आधारित भएरै अघि बढ्नु पर्दछ । त्यसैले जबज र समाजवादमा सङ्क्रमण नै अबको कार्यदिशा हो ।
नेपाल प्रेसबाट
प्रतिक्रिया दिनुहोस