लुम्बिनीका १२ सय पत्रकारको दुर्घटना बीमा हुँदै, पत्रकारिता छात्रवृत्तिको पनि तयारी

लक्ष्मी पोखरेल

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशभर कार्यरत करिब १२ सय पत्रकारको दुर्घटना बीमा गर्ने तयारी गरेको छ।

पत्रकारको पेशागत सुरक्षा, कल्याण तथा क्षमता विकासलाई प्राथमिकतामा राख्दै प्रदेशका १२ वटै जिल्लामा कार्यरत पत्रकारलाई समेटेर दुर्घटना बीमा कार्यक्रम अघि बढाउन लागिएको हो।

पत्रकार दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्ने विषयमा प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले मंगलबार नेपाल पत्रकार महासंघलगायत पत्रकारसँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधिसँग छलफल गरेको छ।

प्रदेश सचिव भरतमणि पाण्डेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकमा पत्रकारको पेशागत सुरक्षाका साथै क्षमता विकास र पत्रकारिता अध्ययनलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको थियो।

बैठकमा पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत सुरक्षा र क्षमता विकाससँगै पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयलाई पनि अघि बढाउने सहमति भएको छ।

प्रदेश सरकारले पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। छात्रवृत्ति वितरणमा समावेशिता कायम गर्दै विभिन्न वर्ग तथा कोटालाई समेत समेट्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेश सरकारले पत्रकारका लागि विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टाछुट्टै कार्यविधि निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ।

पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा पत्रकारिता अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ।

दुर्घटना बीमा र पत्रकारिता छात्रवृत्तिको कार्यक्रम कार्यान्वयनमा आएमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्यरत पत्रकार तथा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस