काठमाडौँ । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्नेछ।
समितिको कार्यसूचीअनुसार निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ गरिनेछ। वाग्ले ओखलढुङ्गा र सुब्बा काठमाडौंका हुन्।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा वाग्ले र सुब्बाको नाम सिफारिस गरेको थियो।
समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका कार्कीको संसदीय सुनुवाइ भने बुधबार गर्ने कार्यतालिका तय गरेको छ। त्यसका लागि उनलाई प्रस्तुतीकरणसहित उपस्थित हुन बोलाइसकिएको समितिले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रस्तावित पदाधिकारीविरुद्ध उजुरीसमेत आह्वान गरेको थियो।
प्रतिक्रिया दिनुहोस