काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रमा हुने डुवानको प्राविधिक कारण पहिचान गरी विस्तृत प्रतिवेदन पेस गर्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
मंगलबार माइतीघर क्षेत्रको स्थलगत अनुगमनपछि उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं तथा महानगरपालिकाका सम्बन्धित विभागका अधिकारीलाई प्रतिवेदन तयार गरी पेस गर्न निर्देशन दिनुभएको हो ।
अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीको सहभागिता रहेको थियो।
प्रारम्भिक अध्ययनमा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटर व्यासको ढल रहे पनि निकास हुने स्थानमा ६० सेन्टिमिटरको मात्र ढल रहेको पाइएको छ। यसले ढल निकासमा अवरोध सिर्जना भई डुवानको समस्या बढेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
अधिकारीहरूले माइतीघर मण्डला आसपास भवन तथा अन्य संरचना निर्माणका क्रममा ढल निकास प्रणालीमा अवरोध सिर्जना भएको हुन सक्ने प्रारम्भिक अनुमान पनि गरेका छन्।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा पूर्वाधार निर्माण र सेवा प्रवाहसँग सम्बन्धित निकायसँग समन्वय गरेर माइतीघर मण्डला क्षेत्रलाई डुवानमुक्त बनाउने गरी आवश्यक काम अघि बढाइने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस