कालोबजारी नगर्न उद्योगी–व्यवसायीलाई चेम्बरकाे सुझाव

लक्ष्मी पाेखरेल

भालुवाङ । राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सदस्य शंकर गौतमले नाफा कमाउने नाममा कालोबजारी नगर्न उद्योगी तथा व्यवसायीलाई सुझाव दिएका छन् ।

उनले दुई–चार पैसाको लोभमा उपभोक्तालाई ठग्ने काम गर्न नहुनेमा जोड दिँदै उद्योगी–व्यवसायीले इमानदारीपूर्वक व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । बजारमा देखिने विकृति नियन्त्रणका लागि अनुगमन तथा नियमन गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

गौतमले व्यवसायीलाई आत्मनिर्भर बन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयअनुकूल आफूलाई परिवर्तन गर्दै लैजानसमेत सुझाव दिए ।

चेम्बरका अध्यक्ष बसन्तबहादुर कुँवर क्षेत्रीको अध्यक्षतामा भएको सभामा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य गौतम प्रमुख अतिथि तथा राप्ती गाउँपालिका–५ का वडाध्यक्ष देवप्रसाद चौधरी विशिष्ट अतिथि थिए ।

सभामा चेम्बरका महासचिव खेमराज अर्यालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जुनकुमार क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष तीर्थराज ज्ञवाली, इलाका प्रहरी कार्यालय सिसहनियाँका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मदन एमसी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण भुसाल र कृषि चेम्बर अफ कमर्सका अध्यक्ष प्रेमलाल चौधरीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

चेम्बरकी दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस