भोटेकोशी बाढीमा बेपत्ता आफन्तको सास वा लास नपाउँदा मृत्यु संस्कारमै अन्योल

काठमाडाैँ । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका बाँकेका प्रभावित परिवार सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्नसमेत अन्योलमा परेका छन्।

बाढीमा एकै परिवारका तीन जना आफन्त गुमाएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले आफन्तको कुनै खबर नआएपछि सामाजिक संस्कार गर्न नसकेको बताउनुभयो ।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक बाढीसँगै बेपत्ता भएका हुन्। बेपत्ता भएको एक महिना पुग्न लाग्दासमेत उनीहरूको कुनै जानकारी प्राप्त हुन सकेको छैन।

‘हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ, न सास पाइयो, न लास । दोधारमै समय बित्यो’, अनलालले भन्नुभयो, ‘डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा थियो, त्यो पनि प्राप्त भएको छैन । अब कसरी मृत्यु संस्कार गर्ने होला भनेर दोधारमा छौँ ।’

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाएपछि दाजु–भाउजू र भतिजाको अवस्था स्पष्ट हुने आशा जागे पनि हालसम्म रिपोर्ट प्राप्त नभएको उहाँले बताउनुभयो।

अनलालले नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको थियो। डीएनए रिपोर्ट र बेपत्ता आफन्तका सम्बन्धमा सरकारले आधिकारिक जानकारी दिए मृत्यु संस्कार गर्न सहज हुने उहाँको भनाइ छ।

‘सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ’, उहाँले भन्नुभयो, ‘हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ। अब सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।’

बुढेसकालको सहारा मानिएका एक्ला छोरा तथा जीवनका आधार बनेका दाजु–भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकाय र उहाँकी श्रीमती कर्णसरी रोकाय शोकमा छन्। सासको आश मर्दै गए पनि शवसमेत फेला नपर्दा थप पीडा भएको अनलालले बताउनुभयो।

आमाबुबाको पर्खाइमा तीन बालबालिका
नेपालगन्ज उपमहानगरपालिका–२० थपुवागाउँबाट रोजगारीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि भोटेकोशी बाढीमा बेपत्ता हुनुभएको छ।

उहाँहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय अश्विन र नौ वर्षीया स्मारिका आमाबुबा फर्किने आशामा छन्।
कमाइ गरेर खर्च पठाउने आमाबुबा नै बेपत्ता भएको पीडामाथि शवसमेत फेला नपर्दा मृत्यु संस्कारको कामसमेत हुन नसकेको सुभाषले बताउनुभयो।

नेपालगन्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता आफन्तको सास वा लास फेला नपर्दा परिवारलाई मृत्यु संस्कार गर्न द्विविधा भएको बताउनुभयो।

उहाँले बेपत्ताको खोजी जारी राख्न तथा सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने बताउनुभयो।

१६ जनाको डीएनए नमुना सङ्कलन
भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको खोजीमा रहेका केही व्यक्तिको चितवन र काठमाडौँस्थित अस्पताल तथा बाँकेका १६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जानकारी दिनुभयो।

बाढीमा परेर बाँकेका २३ जना हालसम्म बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म तीन जनाको शव सनाखत भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस