घोराही । शान्ति निकेतन विद्यालय घोराहीले आफ्नो २१ औं वार्षिकोत्सव उत्साहका साथ मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डीसीले घोराहीलाई शैक्षिक हवको रूपमा विकास गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।
गुणस्तरिय शिक्षाका लागि शान्ति निकेतन विद्यालयले अग्रणी भूमिका खेल्ने उपप्रमुख डिसीले विश्वास व्यक्त गर्नुभयो । संविधानले विद्यालय शिक्षाको व्यवस्थापन स्थानीय तहलाई दिएको भन्दै उहाँले उपमहानगरपालिकाले अनुगमन र नियमनको कार्य अघि बढाएको र निजी विद्यालयलाई आवश्यक सहयोग प्रदान गर्न तत्पर रहेको बताउनुभयो ।
विशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयहरूले देशका कुल विद्यार्थीमध्ये २५% लाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै, योग्य विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी विद्यालयहरू राज्यप्रति समर्पित भए तापनि सरकारबाट उचित मूल्यांकन नपाएको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशनले नवप्रवर्तन गर्नसक्ने जनशक्तिको खाँचो औंल्याउँदै आउँदै गरेको शिक्षा ऐनमा व्यावहारिक शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले संस्कारयुक्त शिक्षाको महत्त्व दर्शाउँदै शान्ति निकेतनले त्यसलाई आफ्नो मूल उद्देश्य बनाई अघि बढाइरहेकोमा प्रसंसा गर्नुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक खगेश्वर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य एवं राप्ती पोस्ट दैनिकका प्रकाशक÷सम्पादक शरद अधिकारी, पुस्तक तथा स्टेसनरी व्यवसायी समिति, दाङ घोराही नगरका अध्यक्ष विष्णु अधिकारीलगायतले बोल्नु भएको थियो ।
उत्कृष्ट विद्यार्थीहरू सम्मानित
समारोहमा शैक्षिक सत्र २०८० मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यालयमा स्थापना गरिएको ‘शिवा स्मृति पुरस्कार’ कक्षा ६ मा प्रथम भएकी कविता चौधरीलाई प्रदान गरिएको थियो ।
त्यसैगरी, मोस्ट हाइजिन विधामा कक्षा जे.के.जी. का छात्र प्रभास पौडेल, अनुशासन विधामा कक्षा ४ की छात्रा रितिका बस्नेत, तथा वर्ष उत्कृष्ट विधामा कक्षा ९ का छात्र प्रविन रिजाल पुरस्कृत हुनुभएको थियो ।
सांस्कृतिक कार्यक्रमले मोहित बनायो
विद्यालयका विद्यार्थीहरूले नाटक, गीत, नृत्य र हप्किडो कलाको उत्कृष्ट प्रस्तुति दिएका थिए । जसले दर्शकहरूलाई आकर्षित गरेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल गौतमले शैक्षिक गतिविधिसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, कक्षा एस.के.जी., ६ र ८ का विद्यार्थीहरू जेनी पुन, आशिका हमाल, र विनिता वलीले विद्यार्थीहरूको तर्फबाट मन्तव्य दिएका दिनु भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शैक्षिक निर्देशक टीकाबहादुर बस्नेतले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस