‘गौँथली’ को व्यापार उकालोमा, अधिकांश शो हाउसफुल

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न थालेको छ। प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा चलचित्रका अधिकांश शो हाउसफुल हुन थालेका छन् ।

निर्माण पक्षका अनुसार बुधबार बिहानैदेखि चलचित्रका अधिकांश शोको टिकट बिक्री तीव्र भएको छ। दिउँसो र साँझका धेरै शोमा बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनमार्फत बिक्री भइसकेको छ भने केही शो ‘फिलिङ फास्ट’ अवस्थामा पुगेका छन्। कतिपय शो हाउसफुल भइसकेका छन् ।

निर्देशक कपिल रिजालले दर्शकको सकारात्मक प्रतिक्रियासँगै चलचित्रको माग बढ्दै गएको बताउनुभयो। उहाँले समयमै टिकट बुक गर्न दर्शकलाई आग्रह गर्दै हलमा पुगेर मात्रै टिकट लिन खोज्दा नपाउन सकिने अवस्था रहेको उल्लेख गर्नुभयो।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

घर, परिवार, सम्बन्ध र आत्मीयताको कथालाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस