काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षण सञ्चालनको अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको एक संस्थाको कार्यालय सिलबन्दी गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले बुधबार काठमाडौंस्थित इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा अनुगमन गरी कार्यालय सिलबन्दी गरेको हो।
विशेष गरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकरणसम्बन्धी प्रमाणपत्र उपलब्ध गराएको गुनासोका आधारमा अनुगमन गरिएको जनाइएको छ। अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन तथा अनुमति सर्तहरूको गम्भीर उल्लङ्घन गरेको भेटिएको छ।
सीटीईभीटीबाट सीप प्रशिक्षण सञ्चालनको मात्र अनुमति पाएको उक्त संस्थाले सीटीईभीटीलाई मात्र प्राप्त सीप परीक्षण तथा प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ। साथै, अनुमति लिँदा स्वीकृत गरिएका विषयभन्दा फरक विधामा समेत तालिम सञ्चालन गरेको अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोलीले संस्थाको कार्यालय सिलबन्दी गर्नुका साथै आवश्यक कागजात तथा प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका कागजातको अध्ययन तथा अनुसन्धानपछि संस्थाविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस