घोराही । सभ्यता पाठशालाकाे १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू आयोजना गर्दै विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको अवसर प्रदान गरेको छ ।
विद्यालयका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरुले ‘संस्कार, संस्कृति र सभ्यता’ भन्ने नारालाई व्यवहारमा लागू गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडि बढ्न विद्यालयलाई आग्रह गरेका थिए ।
प्रमुख अतिथि डिसीले विद्यालयलाई आगामी दिनमा समेत अन्य शैक्षिक संस्थाहरूका लागि उदाहरणीय बनाउने दिशामा अगाडि बढ्न सुझाव दिइन् ।
वार्षिकोत्सव समारोहको शुभारम्भ विद्यार्थी तथा शिक्षकहरूको झाँकीसहितको शोभायात्राबाट भएको थियो। घोराही बजार परिक्रमा गर्दै विद्यार्थीहरूले विद्यालयको सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूले मौलिक कला र संस्कृति झल्किने नृत्य, संगीत र अन्य सांस्कृतिक प्रस्तुतीहरू मार्फत दर्शकहरूको मन जितेका थिए। राष्ट्रिय गान तथा सांगीतिक प्रस्तुतिहरू विद्यार्थीहरूले आफ्नै बाध्यबाधनमा बजाएर प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा थप आकर्षण बढाएको थियो ।
विद्यालयका शैक्षिक निर्देशक केशरमान बुढाथोकीले विद्यालयले छोटो समयमा उत्कृष्ट शैक्षिक लक्ष्यहरू हासिल गरेको उल्लेख गर्दै भविष्यका शैक्षिक रणनीतिहरूबारे आफ्नो धारणा व्यक्त गरे ।
विद्यालयका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल चेतमान घर्तीले कार्यक्रमको सहजीकरण गरेका थिए भने विद्यालयका कोर्डिनेटर पुष्पा तामाङले स्वागत मन्तव्य प्रस्तुत गरे।
विद्यालय प्रशासनका अनुसार सभ्यता पाठशालाले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई संस्कार, संस्कृति र सभ्यताको महत्व बुझाउँदै अगाडि बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस