दाङ । प्रेम सम्बन्ध टुंगिएपछि कलाकारहरूको फिल्ममा सहकार्य त टाढाको कुरा, एकअर्काको नाम समेत सुन्न चाहँदैनन् । तर, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले भने ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । केही समयअघि फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्ममा पनि सहकार्य निश्चित भएको छ । त्यो फिल्म हो, ‘विनोद’ ।
बिहीबार सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । त्यो पोस्टर सृष्टिले पनि आफ्नो फेसबुक र इन्स्टामा साझेदार गरेकी छन् । तर, पोस्टरमा उनको नाम छैन । निर्देशक बलिराम चौहानले ‘विनोद’मा सृष्टिको पनि अभिनय रहने जानकारी दिए । छायांकन भने आगामी मंसिरमा गरिने उनको भनाई छ ।
फिल्म पौराणिक कथामा बन्न लागेको निर्देशक चौहान बताउँछन् । ‘यो ‘पिरियोडिक-वार’ ड्रामा हो,’ उनले सौगातको चरित्रबारे पनि जानकारी दिँदै भनेका छन्, ‘उहाँको चरित्रलाई भगवान् शिवसँग जोड्न मिल्छ । उहाँको भूमिका पूरै एक्सन पनि होइन र पूरै सोझो पनि छैन । एकदमै ‘डाइनामिक’ चरित्र छ । समाजमा त्यो चरित्र साधारण छ । पछि घटना परिघटनाले ऊ समाजकै मसिहा बन्छ ।’
बागमती नदीसँग जोडेर तराई र पहाडको संगम स्थलमा छायांकन गर्न लागिएको फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ भने केही स्थापित कलाकारको केमियो पनि रहने जनाइएको छ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन भ्याउनेछन् ।
प्रतिक्रिया दिनुहोस