शंकर पोखरेल/ आम निर्वाचनपछि नेकपा (एमाले) ले प्राप्त गरेको परिणाम पार्टी जीवनका लागि अकल्पनीय र पीडाजनक थियो । निर्वाचनअघि प्रदेश कमिटीका अगुवा कमरेडहरूबाट प्राप्त रिपोर्टहरू उत्साहजनक थिए । तर मतपेटिका खुल्दै जाँदा परिणाम अपेक्षाभन्दा पूर्णतः फरक आयो । त्यसपछि पार्टीले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने अवस्था उत्पन्न भयो ।
मुख्य प्रश्न थियो-जनताको बदलिएको मनोविज्ञान बुझ्न नसक्ने अवस्थामा हामी कसरी पुग्यौं ? जनता हामीबाट टाढिइसकेका रहेछन् । तर हामी भने जनता अझै आफ्नै साथमा छन् भन्ने धारणामा रहिरह्यौं । आफूलाई जनतामा आधारित कार्यकर्ताको पार्टी भनेर गर्व गर्ने नेकपा (एमाले) ले जनताको मन पढ्न किन सकेन ? यही प्रश्नबाट पार्टीको समीक्षा सुरु हुनुपर्छ ।
एसियाकै सङ्गठित पार्टीका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको एमालेको निर्वाचनपछिको विश्लेषण यदी कमजोर र सतही भयो भने त्यसबाट पाठ सिक्न सकिँदैन । त्यसैले पार्टीभित्र रहेका कमजोरीहरू पहिचान गर्ने, तिनको समाधान खोज्ने र त्यसका आधारमा पार्टी पुनर्गठनको कार्ययोजना निर्माण गर्ने उद्देश्यले निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको हो ।
पुनर्गठनलाई नेतृत्व परिवर्तनमा सीमित गर्नुहुँदैन
पार्टी पुनर्गठनको प्रश्नलाई केवल नेतृत्व परिवर्तनको प्रश्नका रूपमा बुझ्नु उचित हुँदैन । एमालेको इतिहासमा वैचारिक, राजनीतिक र सङ्गठनात्मक पुनर्गठनका विभिन्न चरणहरू छन् । वि.सं. २०३७ सालमा तत्कालीन मालेले गरेको वैचारिक बहस र त्यसबाट प्राप्त निष्कर्षले झापा विद्रोहकालीन उग्रवामपन्थी तथा अतिवादी भूलहरू सच्याउँदै पार्टीलाई जनआन्दोलन र जनसङ्घर्षको दिशामा अघि बढाउन निर्णायक भूमिका खेलेको थियो । त्यस अर्थमा त्यो पनि वैचारिक पुनर्गठन थियो ।
त्यसैगरी, आठौं राष्ट्रिय महाधिवेशनले जनताको बहुदलीय जनवादको आधारमा पार्टी जीवनको लोकतान्त्रीकरणसँगै बहुपदीय संरचनासहितको सङ्गठनात्मक प्रणाली विकास गर्याे । यसलाई पनि एमालेको सङ्गठनात्मक पुनर्गठनकै एउटा महत्त्वपूर्ण चरणका रूपमा बुझ्नुपर्छ ।
त्यसैले पुनर्गठनलाई नेतृत्वको प्रश्नमा मात्र सीमित गर्नुहुँदैन । मूल प्रश्न पार्टीलाई समग्रतामा कसरी सुधार र रूपान्तरण गर्ने भन्ने हो । दुर्भाग्यवश, पुनर्गठनको बहस सुरु भएपछि त्यो व्यक्ति र अध्यक्षको प्रश्नमा बढी केन्द्रित भयो । यसले पार्टीपङ्क्तिमा मनोवैज्ञानिक विभाजनसमेत सिर्जना गर्याे ।
असमझदारीलाई विग्रहमा बदलिन दिनुहुँदैन
पार्टीभित्र अध्यक्ष र महासचिवबीचको सम्बन्धका विषयमा विभिन्न चर्चा चले । मेरो स्पष्ट धारणा छ-पार्टीभित्र अभियोग लगाउने, विग्रह सिर्जना गर्ने वा विशेष महाधिवेशनको नेतृत्व गर्ने मेरो उद्देश्य होइन । मैले पार्टी अध्यक्षसँग लामो समय सँगै काम गरेको छु । त्यसैले असहमतिको नाममा एकअर्कालाई अभियोग लगाउने बाटो पार्टीका लागि उपयोगी हुँदैन ।
कार्यदलले विभिन्न समूहबाट प्राप्त सुझावहरूलाई सकेसम्म जस्ताको तस्तै समेट्ने प्रयास गरेको थियो । त्यस क्रममा प्रतिवेदनका केही बुँदाले गलत बुझाइ र अविश्वास उत्पन्न गरेको हुनसक्छ । विशेष महाधिवेशनमा जानुहुँदैन र पार्टीको पुनर्गठन पार्टी केन्द्र आफैले गर्नुपर्छ भन्ने आशयमा राखिएको एउटा बुँदाको सन्देश फरक रूपमा बुझिन पुग्यो । मेरो आशय नेतृत्व परिवर्तनको माग गर्नु थिएन ।
आज हामीले विगतका असमझदारीलाई अझ ठूलो तनावको विषय बनाउनु हुँदैन । अध्यक्ष र महासचिवबीच मन फाटेको अनुभूति पार्टीपङ्क्तिमा परेको छ भने त्यसले पार्टी निर्माणमा सहयोग गर्दैन । हाम्रो ध्यान पार्टीलाई कसरी बलियो बनाउने भन्ने दिशामा केन्द्रित हुनुपर्छ ।
एमालेसँग आत्मसमीक्षा गर्ने सामर्थ्य छ
पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा एउटा महत्वपूर्ण कुरा छ—पार्टीसँग आफ्ना कमजोरीहरू महसुस गर्ने, त्यसबाट सिक्ने र आफूलाई सुधार्ने सामर्थ्य छ । मेरो विचारमा यही नै अहिलेको सबैभन्दा महत्वपूर्ण आधार हो ।
आत्मसमीक्षा गर्ने सामर्थ्यलाई व्यवहारमा रूपान्तरण गर्न सकियो भने पार्टीपङ्क्तिमा नयाँ उत्साह पैदा गर्न सकिन्छ । गल्ती स्वीकार गर्न सक्ने र त्यसबाट सिकेर अघि बढ्नसक्ने पार्टीले नै आफूलाई पुनर्जागृत गर्नसक्छ ।
महाधिवेशनको समयमा बहस भए, विवाद भए, प्यानल बने । तर ती सबैलाई अनन्तकालसम्म बोकेर हिँड्नु हुँदैन । महाधिवेशनको मनोविज्ञान महाधिवेशनसँगै समाप्त हुनुपर्छ । आज प्रत्येक कमरेड पार्टी निर्माणका लागि योग्य र सक्षम छन् भन्ने विश्वासका साथ एउटै स्पिरिटमा अघि बढ्न आवश्यक छ ।
चुनौती गम्भीर छ, त्यसैले एकता अपरिहार्य छ
आजको राजनीतिक परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ । सरकारको स्वरूप, बदलिँदो भूराजनीति र मुलुकको राजनीतिक दिशाले हाम्रो आन्दोलन र पार्टीको भविष्यसँग सम्बन्धित गम्भीर प्रश्नहरू खडा गरेका छन् ।
यस्तो अवस्थामा हामीले एकअर्कामाथि कटाक्ष गर्ने होइन, चुनौतीको सामना गर्न पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने सङ्कल्प गर्नुपर्छ । छलफल र बहसका क्रममा फरक–फरक धारणा हुनु स्वाभाविक हो । तर निर्णयमा पुगेपछि ती धारणाहरूलाई पार्टीको साझा निर्णयमा रूपान्तरण गर्न सक्नुपर्छ ।
पार्टीभित्रको बहस निष्कर्षमा पुग्नुपर्छ र निष्कर्ष पार्टी निर्णयमा बदलिनुपर्छ । त्यसपछि सम्पूर्ण पार्टीपङ्क्ति त्यसैका आधारमा अघि बढ्नुपर्छ ।
विगतका उपलब्धि हाम्रो राजनीतिक पुँजी हुन्
पार्टी अध्यक्षको नेतृत्वमा एमालेले गरेका कामहरू हाम्रो राजनीतिक पुँजी हुन् । संविधान निर्माणको चरणमा मुलुकलाई अस्थिरता, अराजकता तथा जातीय र क्षेत्रीय अतिवादतर्फ जान नदिन वैचारिक सङ्घर्षको नेतृत्व गर्ने क्रममा केपी शर्मा ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यतिबेला पार्टीले औपचारिक रूपमा सबै निर्णय गरिसकेको अवस्था नहुँदा पनि उहाँले उठाउनुभएको वैचारिक प्रश्नले व्यापक राजनीतिक प्रभाव पारेको थियो । समाजमा उठिरहेका महत्वपूर्ण अन्तरसङ्घर्षहरूलाई पहिचान गरेर त्यसको समाधान खोज्न सक्दा नेतृत्व निर्माण हुन्छ भन्ने कुराको एउटा उदाहरण त्यही अनुभव हो ।
प्रधानमन्त्रीका रूपमा अध्यक्षको नेतृत्वमा भएका विभिन्न कामहरू पनि पार्टीका महत्त्वपूर्ण राजनीतिक पुँजी हुन्—नाकाबन्दीको सामना गर्ने अडान, जनताका निराश सपनालाई पुनः जागृत गर्ने प्रयास, देशभक्तिपूर्ण राजनीतिक अडान, रणनीतिक पूर्वाधार विकास र सामाजिक सुरक्षाको विस्तारजस्ता विषय त्यसका उदाहरण हुन् । तर प्रश्न के हो भने यी उपलब्धिहरू हुँदाहुँदै पनि पछिल्लो निर्वाचनमा जनताले ती एजेन्डामाथि पर्याप्त छलफल गर्न चाहेनन । त्यसैले जनताले पार्टीबाट दूरी किन बनाए भन्ने प्रश्नको गम्भीर विश्लेषण आवश्यक छ ।
बदलिएको समाज र उपभोक्तावादलाई बुझ्नुपर्छ
नेपाली समाजमा पछिल्लो समय तीब्ररूपमा उपभोक्तावादको विकास भएको छ । सूचना प्रविधिको क्रान्ति, वैदेशिक रोजगारी, पूर्वाधार विकास र सामाजिक परिवर्तनले मानिसहरूको जीवनशैली र अपेक्षामा ठूलो परिवर्तन ल्याएका छन् ।
आम्दानी र खर्चबीचको बढ्दो अन्तरले सामाजिक विचलनका विभिन्न रूपहरू जन्माएको छ । भ्रष्टाचार, अराजकता, तस्करी, कालोबजारी, डनगिरी र वैदेशिक पलायनजस्ता प्रवृत्तिप्रति नागरिकमा असन्तुष्टि बढेको छ । राज्यसँग सम्बन्धित समस्याप्रति पैदा भएको यही असन्तुष्टिले लोकप्रियतावादी राजनीतिको विस्तारका लागि वातावरण निर्माण गरेको बुझ्न सकिन्छ ।
यसलाई केवल एल्गोरिदम वा सामाजिक सञ्जालको प्रभावका रूपमा बुझ्नु पर्याप्त हुँदैन । सूचना प्रविधि आज राजनीतिक प्रभावको महत्वपूर्ण माध्यम भए पनि त्यसको प्रभावलाई हाम्रो वैचारिक धरातलबाट बुझ्ने र त्यसको सामना गर्ने क्षमता विकास गर्नुपर्छ ।
सूचना प्रविधिको युगमा मार्क्सवादको नयाँ व्याख्या
आजको समाज सूचना प्रविधिमा आधारित समाजका रूपमा तीब्र गतिमा रूपान्तरण भइरहेको छ । यस्तो अवस्थामा हाम्रो वैचारिक धारलाई अझ परिष्कृत गर्न आवश्यक छ । विशेषगरी युवा पुस्ता हामीसँग किन जोडिन सकेको छैन भन्ने प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्छ । सूचना प्रविधिको क्रान्तिपछि नयाँ पुस्ताको मनोविज्ञान कसरी बदलिएको छ ? उनीहरूको सामाजिक चेतना, आकाङ्क्षा र राजनीतिक बुझाइ कसरी विकसित भइरहेको छ ? र यी परिवर्तनलाई मार्क्सवादसँग कसरी जोड्ने ? यी विषयमा पर्याप्त गम्भीर बहस हुनसकेको छैन ।
युवाका लागि कार्यक्रम र योजना हामीले नबनाएका होइनौं । ‘मिसन ग्रासरुट’ देखि वडा, पालिका र युवा केन्द्रित विभिन्न कार्यक्रमसम्म सञ्चालन भएका छन् । तर कार्यक्रम बनाएर मात्र युवा जोडिँदैनन् । उनीहरूको मन जित्ने गरी उनीहरूकै अनुभव, अपेक्षा र भाषासँग जोडिन सक्नुपर्छ ।
यदि युवालाई जोड्न सकिएन भने पार्टीको भविष्य गम्भीर प्रश्नमा पर्छ । पार्टी केवल पुरानो पुस्ताको राजनीतिक थलो बनेर विजयी हुन सक्दैन । भविष्य निर्माण गर्न युवामाझ जानैपर्छ ।
योजना होइन, प्रभावकारी कार्यान्वयन आवश्यक छ
निर्वाचन समीक्षा र पुनर्गठनसम्बन्धी कार्यदलका सुझावहरूले पार्टी जीवनका धेरै समस्याहरू उजागर गरेका छन् । विभिन्न समूहबाट आएका सुझाव, निर्वाचन समीक्षा प्रतिवेदन र पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको दुई कार्यभार तथा १५ कामको प्रस्तावले धेरै विषय समेटेका छन् ।
कार्यदलको अन्तिम प्रतिवेदनले ४० वटा सङ्कल्पको कुरा पनि अघि सारेको छ । अब यी सबै सामग्रीलाई संश्लेषण गरेर पार्टीलाई सही दिशा प्रदान गर्ने काम आवश्यक छ । समस्या पहिचान भइसकेको छ, अब समाधान कार्यान्वयन गर्ने चरणमा प्रवेश गर्नुपर्छ ।
पार्टीसँग आवश्यक ‘कच्चा पदार्थ’ प्राप्त भइसकेको छ । त्यसलाई संश्लेषण गरेर सही राजनीतिक, वैचारिक र सङ्गठनात्मक दिशामा रूपान्तरण गर्ने जिम्मेवारी नेतृत्वको हो ।
सुधारसहितको एकता नै आजको आवश्यकता
आजको अवस्थामा पार्टीलाई अगाडि बढाउने आधार सुधारसहितको एकता हो । सुधार पनि गर्न नसक्ने र एकता पनि कायम गर्न नसक्ने अवस्था पार्टीका लागि गम्भीर हुनेछ । त्यसैले सुधार र एकतालाई परस्पर विरोधी विषयका रूपमा होइन, एकअर्काका पूरकका रूपमा बुझ्नुपर्छ ।
पार्टीभित्रका छलफल स्वस्थ र मर्यादित हुनुपर्छ । तिनको उद्देश्य पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा अझ एकताबद्ध बनाउने हुनुपर्छ । जीवनशैली र आचरणमा समेत रूपान्तरण आवश्यक छ ।
जनताले नेता–कार्यकर्ताको जीवनशैलीलाई नियालिरहेका छन् । हाम्रो जीवनशैली लोकतान्त्रिक संस्कारअनुकूल छ कि छैन भन्ने प्रश्न हामी आफैंले सोध्नुपर्छ । जनतासँग दूरी पैदा गर्ने अहंकारपूर्ण व्यवहारलाई परिवर्तन गर्नुपर्छ ।
त्यसैले अब तीनवटा काममा विशेष ध्यान दिन आवश्यक छ—कमिटीलाई बलियो बनाउने, जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने र कार्यकर्तापङ्क्तिमा विश्वास तथा उत्साह जगाउने ।
बहस बैठकभित्र, निर्णयपछि एकताबद्ध कार्यान्वयन
केन्द्रीय कमिटीमा खुलेर छलफल गरौं । आफ्ना विचार राखौं, असहमति व्यक्त गरौं र आवश्यक प्रश्न उठाऔं । तर, बैठकले निर्णय गरिसकेपछि बाहिर निरन्तर विवाद गर्ने संस्कारलाई अन्त्य गर्नुपर्छ ।
लोकतान्त्रिक पार्टीमा बहस आवश्यक छ । तर बहसको अन्तिम उद्देश्य विभाजन होइन, साझा निष्कर्ष हो । निर्णयपछि पार्टीपङ्क्ति एउटै भावनाका साथ अघि बढ्न सक्नुपर्छ । आवश्यक परे संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने अवस्था पनि आउन सक्छ । तर, त्यसअघि पार्टीपङ्क्तिलाई एकताबद्ध बनाउनु, पार्टी शक्तिको मनोबल उच्च बनाउनु र भावनात्मक एकता निर्माण गर्नु पहिलो आवश्यकता हो ।
कुनै पनि नेता वा कार्यकर्ताले ‘पार्टीले मलाई उपेक्षा गर्याे’ भन्ने अनुभूति नहुने वातावरण बनाउनुपर्छ । विगतका विमतिका भारी बोकेर वर्तमानका चुनौती सामना गर्न सकिँदैन । आजको आवश्यकता विगतको हिसाबकिताबमा अल्झिने होइन, आत्मसमीक्षाबाट शक्ति आर्जन गरेर नयाँ यात्रामा अघि बढ्नु हो । एमालेसँग आफूलाई महसुस गर्ने, सिक्ने, सुधार्ने र पुनर्जागृत गर्ने सामथ्र्य छ । यही सामथ्र्यलाई व्यवहारमा प्रमाणित गर्दै पार्टीलाई नयाँ ऊर्जा र नयाँ एकताका साथ अघि बढाउनुपर्छ ।
सुधारसहितको एकता नै आजको आवश्यकता हो । यही आधारमा पार्टीलाई पुनर्जागृत र पुनर्गठित गर्दै आजका चुनौतीहरूको सामना गर्न सकिन्छ ।
महासचिव, नेकपा (एमाले)
प्रतिक्रिया दिनुहोस