सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह

काठमाडाैँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारसँग आग्रह गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित कामकारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको भन्दै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाएको छ।

प्रदेशसभा सदस्य तुल्सी देवकोटाका अनुसार बैठकले आगामी असोज १५ गतेभित्र बजेट पारित हुने गरी प्रक्रिया टुङ्ग्याउन सरकारसँग आग्रह गरेको छ।

चाडपर्व नजिकिँदै गएको समयमा अत्यावश्यक सेवा प्रवाहमा समेत बजेट शून्यताको असर पर्न थालेको भन्दै नागरिकका दैनिक सरोकारका सेवा प्रभावित हुन नदिन सरकारलाई आग्रह गर्ने निर्णय गरिएको देवकोटाले बताए ।

बैठकले बजेट पारित गर्ने विषयमा प्रदेशसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्दै आवश्यक सहमति र संवादमार्फत निकास खोज्न सरकारसँग आग्रह गरेको छ ।

बजेट शून्यताको अवस्था थप लम्बिँदा प्रदेशको विकास, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिमा थप असर पर्न सक्ने भन्दै बैठकले सरकारलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ।

यसअघि तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि हालसम्म बजेट पारित हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस