काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हाल देशमा उत्पन्न राजनीतिक घटनाक्रमलाई ‘प्रतिगामी’ भन्दै यसको विरुद्ध शक्तिशाली सडक आन्दोलन अपरिहार्य भएको बताएका छन् ।
मंगलबार बसेको एमालेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले संविधानमै चोट पुग्ने गरी गरिएको राजनीतिक कदमविरुद्ध पार्टी दृढतापूर्वक उभिइसकेको जानकारी दिए ।
उनका अनुसार गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले संविधानमाथि सीधा आक्रमण गरेको छ । अनधिकृत रूपमा संसद विघटन र सदनबाहिरबाट सरकार गठन गरिएको भन्दै उनले यसलाई ‘गम्भीर प्रतिगमन’ रहेको टिप्पणी गरे ।
उपाध्यक्ष पौडेलले भने, “देशमा जुन किसिमको प्रतिगमन भयो, त्यसको प्रतिकारमा सडकमा उत्रिनुपर्छ । जनतालाई संगठित गर्दै निर्णायक आन्दोलनको माध्यमबाट प्रतिनिधि सभाको पुनःस्थापना गर्नु हाम्रो मुख्य लक्ष्य हो ।”
उनले पार्टीको इतिहास पनि प्रतिगमनविरुद्ध लड्दै आएको भएकाले अहिले पनि खरो भूमिकासहित अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याए ।
उनका अनुसार पार्टीले पछिल्ला घटनाक्रमबारे गम्भीर आन्तरिक छलफल गरिरहेछ र आवश्यक सबै कदमचाहिँ विचारपूर्वक अघि बढाउनेछ ।
पौडेलले जनताका बीचमा व्यापक रूपमा जाने, उनीहरूलाई संगठनात्मक रूपमा परिचालन गर्ने र आन्दोलनलाई निर्णायक चरणमा लैजाने तयारी पार्टीले गरिरहेको स्पष्ट पारे ।
एमालेले देशमा भइरहेको राजनीतिक ‘अराजकता’ बिरुद्ध आफ्नो भूमिका थप स्पष्ट र क्रियाशील बनाउने संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस