बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणका लागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको बताउएका छन् ।
सैनामैना नगरपालिका–१ स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले “निरोगी प्रदेशवासी” अभियानलाई सफल बनाउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यको महत्वलाई जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ अघि बढाउने तयारी गरिरहेको छ । उनले भने, “स्वास्थ्य कार्यक्रमहरूमा योग र प्राकृतिक चिकित्सालाई समावेश गरेर दीर्घकालीन रणनीति तयार गर्नेछौं । यसका लागि योग केन्द्रहरूको प्रवद्र्धन गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने जस्ता योजना बनाउन जरुरी छ । यसमा सरकारले ध्यान दिनेछ ।”
प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूबाट योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी परामर्श दिनेसम्मको कार्यक्रम अघि बढाउने योजना बनाएको मुख्यमन्त्री आचार्यले बताए । साथै, आयुर्वेद अस्पताल तथा उपचार केन्द्रहरूमा थप सेवा विस्तार गर्ने, प्राकृतिक चिकित्सक र परामर्शदाताहरू उत्पादनमा ध्यान दिने, शिक्षामा योग र प्राकृतिक चिकित्सा विषयलाई पाठ्यक्रमको रूपमा समावेश गरेर व्यापक बनाउने विषयमा समेत सरकारको ध्यान केन्द्रित रहेको उनले जानकारी दिए ।
सो अवसरमा पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष चित्र कार्कीले योग र प्राकृतिक चिकित्सा स्वास्थ्यको प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै सो सम्बन्धी प्रभावकारी कार्यक्रम निर्माण गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस