वर्षा र पहिरोले देशभरका प्रमुख सडक प्रभावित, बिपी र कान्तिलोकपथमा रातिको सवारी बन्द

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाउनुका साथै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक तथा गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन्।

यसैबीच, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा मंगलबार बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस