त्रिभुवननगर जेसीज क्वीज कन्टेस्ट–२०२५ मा जनज्योति विद्यामन्दिर प्रथम

दाङ । प्रजातन्त्र दिवसको अवसरमा त्रिभुवननगर जेसीजद्वारा आयोजित ‘त्रिभुवननगर जेसीज क्वीज कन्टेस्ट–२०२५’ सम्पन्न भएको छ ।

वार्षिक कार्यक्रमअनुसार आयोजित प्रतियोगितामा घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जनज्योति विद्यामन्दिर घोराही प्रथम, दिपशिखा आवासीय माध्यमिक विद्यालय द्वितीय र गोरखा इन्टरनेशनल माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भए ।

त्रिभुवननगर जेसीज वर्ष–२०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षतामा प्रतियोगीता सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले विद्यार्थीहरूका लागि यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, “शिक्षा केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन, प्रतियोगितामार्फत् विद्यार्थीहरूको विश्लेषणात्मक क्षमता, तर्कशक्ति र आत्मविश्वास बढ्न मद्दत गर्दछ ।”

कार्यक्रमका अध्यक्ष टंकबहादुर रावतले जेसीजले युवा क्षमताको विकासमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै भन्नु भयो, “विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतियोगितामा संलग्न गराउँदै उनीहरूलाई नेतृत्वदायी भूमिकामा तयार गराउनु हाम्रो उद्देश्य हो ।”

प्रतियोगिताको जुरीमा निशान्त आचार्य, डा. लोकराज पराजुली र शारदा योगी रहनुभएको थियो । कार्यक्रम संयोजक अभिषेक बोहोराले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्णदेव थापा र कोषाध्यक्ष बुद्धिप्रकाश शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस