एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका दुई जनाको मृत्यु, दुई घाइते

बर्दिया । एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन् ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षिय भूमि लामिछाने र उनका करिब सात वर्षिय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार योग शिविर सञ्चालन भइरहेको स्थानतर्फ जाँदै गरेका उनीहरूलाई तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो। मृत्यु भएका लामिछाने योग गुरु समेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षिया सीता लामिछाने र स्थानीय ६५ वर्षिय सूर्य उपाध्याय घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस