विद्यालय शिक्षा विधेयक पारित गर्न संसद् अधिवेशन आह्वान गर्ने निर्णय

काठमाडौँ । सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते शुक्रवार दिउँसो १ बजेका लागि सङ्घीय संसद्को बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले सरकारको तर्फबाट उक्त विधेयक पारित गराउन आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूप्रति सरकार संवेदनशील र गम्भीर रहेको बैठकले जनाएको छ। उहाँले सरकारले यथोचित मागहरू सम्बोधन गर्न संवाद प्रक्रिया निरन्तर राखेको र अझै पनि संवाद गर्न तयार रहेको जानकारी दिनुभयो।

बैठकले अहिलेको समय विद्यार्थी भर्ना, एसइई उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण कार्यसँग सम्बन्धित रहेकाले आन्दोलन र प्रदर्शन स्थगन गर्न शिक्षक महासङ्घलाई अनुरोध गर्ने निर्णय गरेको छ। विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यस्थलमा फर्किन आग्रह गरिएको मन्त्री भट्टराईले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस