सांसदलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रको भ्रमण पार्टीसँग समन्वय गरेर मात्रै गर्नू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमण गर्दा पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न निर्देशन दिएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन क्षेत्रको भ्रमणलाई केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने र जनमतलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।

रास्वपाले संघीय संसद् र नागरिकबीच जीवन्त संवाद आवश्यक रहेको उल्लेख गर्दै भ्रमणलाई राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउन सांसदहरूलाई रणनीतिक समन्वय गर्न निर्देशन दिएको छ ।

विज्ञप्तिअनुसार सांसदहरूले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय भएपछि सम्बन्धित पार्टी समितिलाई पूर्वजानकारी गराउनुपर्नेछ । आफ्नो निर्वाचन क्षेत्रबाहिर कार्यक्रम भए सम्बन्धित सांसद र पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै, स्थानीय समितिसँग छलफल गरेर सम्बन्धित क्षेत्रका ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्न, स्थानीय पार्टी संरचनाको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्न, भ्रमणलाई तडकभडक र अनावश्यक खर्चबाट मुक्त राख्न तथा स्रोत–साधनको मितव्ययी उपयोग गर्न पार्टीले आग्रह गरेको छ ।

रास्वपाले निर्वाचन क्षेत्रमा प्राप्त जनसुझाव, गुनासा तथा स्थानीय समितिको प्रतिवेदनलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ।

विज्ञप्तिमा सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एक–अर्काका पूरक भएकाले समन्वयात्मक प्रयासले पार्टीको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप मजबुत हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस