काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार करिब तीन घण्टा लामो भेटवार्ता भएको छ ।
नेकपा स्रोतका अनुसार ललितपुरमा भएको भेटमा पार्टी एकतादेखि प्रदेश सरकारमा सत्ता साझेदारी, स्थानीय तह र प्रदेशसभा निर्वाचनमा सहकार्यलगायत विषयमा छलफल भएको छ । छलफल सकारात्मक रहेको र वाम शक्तिबीच सहकार्य गर्ने विषयमा लगभग समझदारी बनेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार संयोजक दाहाल जनकपुरधामबाट फर्किएपछि सहकार्यसम्बन्धी लिखित सहमति गर्ने तयारी छ । एमाले सचिव महेश बस्नेतले पनि अध्यक्ष ओली र संयोजक दाहालबीच भेट भएको पुष्टि गर्दै नेकपा र एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ ।
अध्यक्ष ओलीसँगको भेटपछि संयोजक दाहालले पनि एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रदेश सरकार गठनमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिबीचको सहकार्यका लागि यो सकारात्मक कदम बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बस्नेतले वाम शक्तिबीचको सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गर्नुभएको छ । कांग्रेस–एमाले गठबन्धन अन्त्य भएपछि एमाले र नेकपा एकअर्कासँग नजिकिएका थिए। श्रीलंकाबाट फर्किएपछि संयोजक दाहालले सहकार्यका लागि राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएको थियो। सोमबार उहाँले सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा छलफल गर्नुभएको थियो।
ओलीसँगको भेटपछि जनकपुरधाम पुग्नुभएका दाहालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको थियो। यद्यपि प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको र तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उहाँले स्पष्ट पार्नुभएको छ।
संयोजक दाहाल मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नुभएको हो। साउन ६ गते हुने प्रशिक्षण कार्यक्रमलाई उहाँसहित सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस