काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार प्रतिशोधको राजनीतितर्फ उन्मुख भएको आरोप लगाउँदै लोकतन्त्र र संवैधानिक संस्थाको संरक्षणका लागि राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
स्वास्थ्य उपचारका क्रममा विदेशमा रहनुभएका देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार जारी गर्नुभएको सन्देशमा आफू चाँडै नेपाली भूमिमा फर्किने उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई आग्रह गर्नुभएको हो।
देउवाले न्यायपालिका र संवैधानिक निकायमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थालाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिएको दाबी गर्नुभएको छ।
उहाँले मुलुकमा प्रतिशोध र निषेधको राजनीति बढ्दै गएको उल्लेख गर्दै बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्नुभएको छ। अहिले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
छ दशक लामो आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले नेपाली कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माण तथा भूकम्प र कोभिड–१९ जस्ता सङ्कटमा मुलुकलाई निकास दिन भूमिका खेलेको दाबी गर्नुभएको छ। वर्तमान चुनौती सामना गर्न पनि कांग्रेस सक्षम रहेको उहाँले उल्लेख गर्नुभएको छ।
गत फागुनमा सम्पन्न निर्वाचनबाट विशेषगरी युवा पुस्ताले नयाँ जनादेश पाएको यथार्थलाई आफूले सम्मान गर्ने जनाउँदै उहाँले निर्वाचन भने हिंसा र त्रासको वातावरणमा सम्पन्न भएको दाबी गर्नुभएको छ।
उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो मन र चिन्ता सधैँ देश र जनताप्रति केन्द्रित रहेको उल्लेख गर्दै देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना र राष्ट्रप्रेममाथि आफूलाई पूर्ण विश्वास रहेको बताउनुभएको छ। अन्त्यमा उहाँले आफू चाँडै नेपाली भूमिमा फर्किने उल्लेख गर्दै “प्रतिशोध नसाँधियोस्” भन्ने सन्देश दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस