काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइ बहुमतको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्।
सोमवार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र चलिरहेको आरोप लगाए। उनले आफ्नो शरीरमा एक थोपा रगत रहुञ्जेल त्यसको विरोधमा उभिने प्रतिबद्धता जनाए।
उनले भने, ‘सरकारले सक्ने जति जोडबल लगाएको छ। केही नभएको भए अदालतले त्यत्रो धरौटी लिन्थ्यो? दुई तिहाइको सरकारले मलाई जिउँदै छोड्नु नै मेरो जित हो । चाहे जतिसुकै मुद्दा लगाओस्, चाहे ज्यान लिने धम्की दिओस्, म पछि हट्दिनँ। म राजनीतिमा नआएको भए यो दुःख पनि खेप्नुपर्ने थिएन। तर लोकतन्त्र, गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनेहरूलाई खबरदारी गर्न म पछि हट्ने छैन ।’
लामिछानेले आफूविरुद्ध सरकारको षड्यन्त्र अझै जारी रहेको दाबी गरे। उनले जुनसुकै आरोप लागे पनि आफू हर हालमा सामना गर्न तयार रहेको बताए।
उनले भने, ‘सरकारको षड्यन्त्रको सिलसिला अझै नसकिएको छ। तर म कहिल्यै हार मान्ने छैन। राजनीति भनेको समस्याको समाधान गर्ने ठाउँ हो। जतिसुकै आक्षेप लागे पनि, जुनसुकै तराजुमा राखेर तौल्ने प्रयास भए पनि, म तयार छु।’
लामिछानेले सरकारको गतिविधिमाथि कडा आलोचना गर्दै लोकतान्त्रिक व्यवस्थामा असहमति राख्नेहरूमाथि दमन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस