सुनसरी घटनामा संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

आइतबार जारी सन्देशमा प्रधानमन्त्री शाहले सामान्य विषयबाट सुरु भएको विवाद उग्र बन्दा नागरिकको ज्यान गएको र समाजमा त्रास फैलिएको उल्लेख गर्दै यस्तो अवस्था मानवताका लागि स्वीकार्य हुन नसक्ने बताएका छन् ।

घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पीडित परिवारलाई सरकारले यथाशीघ्र न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

“एउटा नागरिकका रूपमा म सुनसरीको घटनाबाट अत्यन्तै दुःखी छु। दोषीलाई कानुनबमोजिम कारबाही गरिनेछ र पीडितलाई न्याय सुनिश्चित गरिनेछ,” प्रधानमन्त्री शाहले भनेका छन् ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले त्यसबारे छानबिन सुरु भइसकेको जानकारी दिएका छन्। दोषी पाइए कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको उपस्थितिले मात्र स्थिति नियन्त्रणमा लिन पर्याप्त नभएको स्वीकार गर्दै नागरिकको ज्यान जानु कुनै पनि अवस्थामा सामान्य विषय हुन नसक्ने बताएका छन्।

समाजमा बढेको आक्रोश, उत्तेजना र बदलाको भावना त्याग्न आग्रह गर्दै उनले अहिलेको प्राथमिकता शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका छन्। “मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। सरकारले आफ्नो पूरा शक्ति लगाएर न्याय दिनेछ। त्यतिन्जेलसम्म सबैले आफ्नो आक्रोश र उत्तेजनालाई नियन्त्रण गरिदिनुहोला,” उनले आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भड्काउने तथा उत्तेजना फैलाउने गतिविधिमा संलग्न नहुन पनि सबैलाई सचेत गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस