दाङ । प्रेस चौतारी नेपाल, दाङ शाखाको दशौं अधिवेशन यही माघ १९ गते घोराहीमा हुने भएको छ । संगठनको शनिबार घोराहीमा बसेको बैठकले यही १९ गते संगठनको अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले समुन्नत समाज निर्माणका लागि पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले पत्रकारहरुले समाजमा रहेको विकृति र विसंगतिका बिरुद्ध कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘‘हामीले समाजमा सकारात्मक सन्देश फैलाउन जरुरी छ‘’, उहाँले भन्नुभयो, ‘‘अहिले केही तत्त्वहरु समाजमा नकारात्मक खबरहरु जबरजस्त फैलाएर समाजलाई विघटनको दिशामा पुर्याउन खोजिरहेका छन् ।‘‘
वर्तमान सरकारले समृद्धिको यात्रामा धेरै उपलब्धिमुलक कामहरु गरेको उल्लेख गर्दै प्रियासनले यसको खबर आम जनता कहाँ पुर्याउन प्रेस चौतारीका सदस्यहरुको भूमिका रहेको बताउनुभयो ।
‘‘हामीले हाम्रा कलमहरुलाई मुलुकको समृद्धिको यात्रासँग जोड्न जरुरी छ,’‘ उहाँले भन्नुभयो, ‘‘पत्रकार समाजको सचेत तप्का भएकाले समाजलाई सही बाटोमा दो¥याउन आफ्नो भूमिका बढाउनुपर्छ ।’‘
बैठकमा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले पार्टी र प्रेस चौतारीका सदस्यहरुबीच समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह–इञ्चार्ज टीका बस्नेतले प्रेस चौतारी मुलुकका सञ्चार संगठहरुको पनि नेता संगठन भएको उल्लेख गर्दै चौतारीमा आबद्ध सदस्यहरुले पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले पार्टी र पार्टी नेतृत्वमा रहेका तीन ओटै तहले गरेका सकारात्मक कामको खबर जनता समक्ष पु¥याउने दायित्व प्रेस चौतारीको भएको बताउनुभयो ।
एमाले दाङका चौतारी विभाग प्रमुख एवम् प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यले संगठनलाई अझ बढी चलायमान र कामकाजि बनाउनुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य सन्तोष दहितले चौतारीले जन सरोकारका विषयहरुलाई उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
चौतारीका लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरले लुम्बिनी प्रदेशमै चौतारीको भूमिका बलियो भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले संगठनलाई जुझारु र एकताबद्ध बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले चौतारीका सदस्यहरुलाई समाचार लेखनमा क्षमतावान बनाउनुपर्ने बताउनुभयो ।
चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव किरण गौतमले गर्नुभएको थियो । बैठकमा सहभागिहरुलाई उपाध्यक्ष सुधासुमन ढकालले स्वागत गर्नुभएको थियो । बैठकले जिल्ला अधिवेशन सफल बनाउनु विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस