काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ ।
मंगलबार राति सम्पन्न खेलमा नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो नामिबियाको जितमा जान फ्रायलिंकले अविजित ७७ रन बनाए। ओपनर माइकल भान लिङ्गेनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने जान निकोल लफ्टी–इटन १७ रनमा अविजित रहे।
नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटिएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे।
रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू सुरुदेखि नै दबाबमा देखिएका थिए ।
नामिबियाका जेजे स्मिथले ९.५ ओभरमा ३६ रन खर्चेर ६ विकेट लिए । बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले समान दुई–दुई विकेट लिए । यस जितसँगै नामिबिया २९ खेलबाट २४ अंक जोड्दै लिग–२ अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। नेपालको पनि समान २४ अंक रहे पनि नेट रनरेटका आधारमा नेपाल अघि रहेको छ । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस