कृष्णदेव थापा,
दाङ । भारतको इन्दिरा गान्धी इन्डोर स्टेडियमा भइरहेको खो खो विश्वकप २०२५ मा नेपालको पुरुष र महिला दुवै टिम फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक आयोजना भइरहेको विश्वकपको सेमिफाइनल खेलमा नेपालको महिला टिमले युगान्डामाथि भारी अन्तर ८९–१८ को जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ ।
ग्रुप सीको बिजेता नेपाल महिला टिमले यस विश्वकपको क्वाटरफाइनलमा इरान माथि १०३–८ को जित निकालेको थियो, भने ग्रुप स्टेजका खेलहरुमा भुटान (८३–२४), जर्मनी (६६–२२), श्रीलंका (११०–१०) र बंगलादेश (८३–२४) देशहरुलाई पराजित गरेको थियो ।
यस्तै नेपालको पुरुष टिमले पनि सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउदैँ जारी खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपाल पुरुष टिमले क्वाटरफाइनलमा बंगलादेश माथि ६७–१८ ले जित हसिल गरेको थियो ।
गु्रप ए को उपबिजेता रहेको नेपाल पुरुष टिमले गु्रप स्टेजका खेलहरुमा पेरु (८०–३४), ब्राजिल (१३४–८) र भुटान (९८–८) देशहरुलाई पराजित गरेको थियो । भोलि जनवरी १९ मा नेपालको दुवै महिला र पुरुष टिमले फाइनलमा भारतसँग भिडने छन् ।
प्रतिक्रिया दिनुहोस