प्रियासनकाे उपन्यास–दौडमा : पाँच वर्षभित्रै ‘सबैभन्दा धेरै उपन्यासकार’ बन्ने लक्ष्य

काठमाडौँ । नेपाली साहित्यमा द्रुत रूपमा सक्रिय उपन्यासकार सविन प्रियासन अब नेपालकै सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने लेखक बन्ने यात्रामा तीव्र गतिले अघि बढिरहनुभएको छ।

हाल १२ उपन्यास प्रकाशन गरिसक्नुभएका प्रियासनको ‘नयाँ लुगा’ उपन्यास यही मङ्सिरमा बजारमा आउँदैछ, जससँगै उहाँका १३ कृति उपलब्ध हुनेछन् ।

नेपालमा २८ उपन्यास प्रकाशित गरेर ध्रुवचन्द्र गौतम शीर्ष स्थानमा रहेका बेला प्रियासनले पाँच–छ वर्षभित्र सो रेकर्ड नजिकिने लक्ष्य राख्नुभएको छ।

यसै वर्ष दुई कृति बजारमा ल्याइसकेका उहाँले सामाजिक परिवेशमा आधारित ‘के पाए के गुमाए’ शीर्षकको अर्को उपन्यास पनि छिट्टै प्रकाशित गर्ने तयारी गरेका छन्, जसमा सामाजिक गतिविधिमा संलग्न पात्रहरूले भोग्ने संघर्ष, त्यसपछिको सफलता, प्राप्त–अपेक्षाबीचको द्वन्द्व र त्यागलाई फरक कथन–शैली र बहु–कोणीय पात्र प्रस्तुतीकरणमार्फत उजिल्याइने बताइएकाे छ।

२०० बढी पृष्ठको उक्त कृति माघभित्र बजारमा आउने सम्भावना छ। उपन्यासहरूका अतिरिक्त प्रियासनका एक कथा–सङ्ग्रह र एक सम्पादकीय–सङ्ग्रह पनि प्रकाशित भइसकेका छन्।

सामाजिक विषयमा केन्द्रित आफ्ना नयाँ कृतिहरूले संघर्षशील व्यक्तित्वलाई अघि बढ्न प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस