काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित आफ्नो पार्टी अदालत धाउने घोषणा गरेका छन् ।
मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद विघटन असंवैधानिक भएकाले यसको अन्तिम समाधान न्यायालयमै खोजिने स्पष्ट पारे ।
उनका अनुसार प्रतिनिधि सभा विघटन संविधान र कानूनको मर्म विपरीत छ, जसले अदालतलाई पुनःस्थापनाबाहेक अन्य कुनै वैकल्पिक फैसला गर्नै नसक्ने परिस्थितिमा पुर्याएको छ ।
ओलीले आफूले पटक–पटक संविधान अवलोकन गरेको उल्लेख गर्दै विघटनको निर्णय ‘पूर्ण रूपमा असंवैधानिक’ रहेको दाबी गरे ।
अध्यक्ष ओलीले भने, “हामी दुई मार्गबाट अघि बढ्छौँ—एक, विघटनलाई अस्वीकार गर्दै कानूनी उपचारका लागि न्यायालयमा जाने, दोस्रो, यस कदमको संवैधानिक परीक्षण आवश्यक छ भन्ने हाम्रो ठहर छ। प्रतिनिधि सभा पुनःस्थापनाबाहेक अदालतले कुनै अर्को वैधानिक फैसला गर्न सक्दैन ।”
वर्तमान सरकारप्रति कठोर आक्रोश जनाउँदै ओलीले आगलागि, तोडफोड, लुटपाट र अराजकतालाई ‘क्रान्ति’का रूपमा चित्रित गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि धक्का पुगेको टिप्पणी गरे ।
उनले यस्तो व्यवहारलाई संवैधानिक कार्यशैलीसँग मेल नखाने भन्दै प्रष्ट भासमा आलोचना गरे । एमालेले संसद विघटनबारे कानूनी संघर्षसँगै राजनीतिक रूपमा पनि प्रतिरोध अघि बढाउने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस