काठमाडौँ । काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः०५ बजे चीनको डिङ्जे क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको हो । डिङ्जे नेपालको उत्तरी सिमानाबाट करिब १८ किलोमिटर टाढा पर्छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकामा हल्कासँग महसुस गरिएको थियो भने हालसम्म कुनै क्षति वा अप्रिय घटना नभएको जानकारी प्राप्त भएको छैन।
यसैबीच, पछिल्ला केही दिनदेखि पश्चिम नेपालका विभिन्न स्थानहरूलाई केन्द्रविन्दु बनाएर एकपछि अर्को भूकम्प गइरहेका छन्। मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिका–पैंक क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो। त्यसको अघिल्लो दिन सोमबार राति ९ः३१ बजे पनि सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन।
प्रतिक्रिया दिनुहोस