काठमाडौँ । पार्टी कार्यालयमा बाढीले क्षति पुर्याएपछि कार्यालयको विकल्पमा रहेको नेकपा (एमाले) को कीर्तिपुरमा भव्य कार्यालय निर्माण हुने भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका(२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्नु भएको छ ।
भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनु भयो । उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जानकारी दिनु भयो ।
एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।
पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनु भयो। उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस