दाङ । नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने खण्डमा सोमबारदेखि रातको समयमा यातायात आवागमन बन्द गरेर पहाड काट्ने काम सुरु गरिएको छ।
पूर्व निर्धारित कार्यतालिका अनुसार चैत २७ गतेदेखि पाँच दिन दिउँसो चार घण्टा बन्द गरिँदै आएको सडक अब १५ दिनसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने भएको हो।
दैनिक राति ६ घण्टा सवारी आवागमन रोकिँदा दाउन्ने क्षेत्रमा निर्माण कार्यलाई गति दिने लक्ष्य लिइएको हो। पूर्वतर्फको भेगमा हिलो र धुलोका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेकाले रातको समय छानिएको निर्माण आयोजनाले जनाएको छ।
छिटपुट वर्षा हुँदा समेत बाटो चिप्लो भई सवारी साधन बिग्रनु र जाम लाग्ने समस्या बढेकाले यात्रुहरूले हैरानी खेप्दै आएका छन्। वर्षायाम सुरु हुनु अघिनै जोखिमपूर्ण खण्डको काम सक्न ठेकेदारको आग्रहअनुसार सडक बन्द गरेर काम गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए।
उनका अनुसार अघिल्ला पाँच दिन दिउँसो सडक बन्द गरिए पनि अविरल वर्षाका कारण प्रभावकारी रूपमा काम हुन सकेको थिएन।
दाउन्नेको झन्डै १४ किलोमिटर क्षेत्रमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण आवतजावतमा सास्ती हुने गरेको छ। सडक बन्द हुने समयमा सवारीसाधनलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाट, ज्यामिरे तथा हकुई क्षेत्रमा रोकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
सडक विस्तारको काम सुस्त हुँदा यात्रु मात्र होइन, सडक छेउछाउका स्थानीय बासिन्दाले पनि लामो समयदेखि सास्ती भोग्दै आएका छन्। तीनपटक म्याद थप गरिसकिएको सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ६१ प्रतिशत मात्र पुगेको छ। आगामी साउनमा पुनः म्याद सकिन लागिरहेको अवस्थामा काम अझै अल्झिएको छ।
प्रतिक्रिया दिनुहोस