दाङ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय र मावि तुलसीपुर देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको छन् । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएको हो ।
एक लाख राशीसहित प्रधानमन्त्री ओलीबाट शिक्षालय सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्य सम्मानित हुनु भएको हो । प्राविधिक शिक्षाको गुणस्तर र नतिजाका साथै विभिन्न क्रियाकलापका आधारमा शिक्षालयलाई उत्कृष्ट घोषणा गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले डिप्लोमा तहका विभिन्न ६ वटा कार्यक्रम र प्रिडिप्लोमा तहका ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षालयलाई नेपालकै नमुनाकारुपमा सञ्चालन गर्नका लागि पुरस्कार र सम्मानले थप प्रेरणा दिएको शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बताउनु भयो ।
सामुदायिक विद्यालयतर्फ दाङको मावि तुलसीपुर उत्कृष्ट घोषणा
यसै बीच दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको श्री मावि सामुदायिक विद्यालय उत्कृष्ट घोषणा भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले श्री मावि तुलसीपुरलाई प्रथम, काठमाडाँैको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविलाई दोस्रो र दाङकै जनकल्याण माविलाई तेस्रो भएको घोषणा गरेको हो ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राप्त नतिजाका आधारमा श्री मावि विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । पहिलो हुने विद्यालयले तीन लाख, दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।
दिवसको अवसरमा मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । तर, आर्थिक अभावका कारण पुरस्कार तथा पदक वितरण गर्ने मिति भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस