दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरीसँगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताउनु भएको हो ।
‘‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मिहिनेत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउने गरी आफ्नो भूमिका बढाउनु होला’’, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय बनाएका छौं । अब युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’’
मुख्यमन्त्रीसँगको भेटमा गिरीले आफूले विभिन्न पाँचवटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराउनु भएको थियो । राप्ती गाउँपालिका–४ मौरीघाट निवासी गिरीले भ¥याङ्गको ५० खुड्किला हातले टेकेर सबै भन्दा छिटो हिड्ने विधा १२.६५ सेकेण्डमा पुरा गरी विश्व रेकर्ड बनाउन सफल हुनु भएको थियो ।
त्यसपछी सोही विधाको ७५ खुड्किला २५.०३ सेकेन्डमा दोस्रो विश्व रेकर्ड कायम गर्न सफल भएको, खुट्टाको विचमा फुटवल च्यापेर ५० मिटर समथर जमिनमा उल्टो भई छिटो हिडेर २५.५८ सेकेण्डमा तेस्रो रेकर्ड कायम गरेको, सोही विधामा १० मिटर ४.४९ सेकेण्डमा चौथो रेकर्ड बनाउन सफल भएको जानकारी दिनुभयो ।
यस्तै टायरलाई सन्तुलन गर्दै एक मिनेटमा १२० पटक स्किपिङ खेली पाँचौं विश्व कृतिमान बनाउन सफल हुनु भएको थियो । हालै नेपाली सेनाले गिरीलाई नगदसहित पुरस्कृत समेत गरेको थियो ।
मुख्यमन्त्री आचार्य सहित शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेलाई आफूले बनाएको रेकर्ड बारे जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस