घाेराही मेलामा आज चर्चित लोकगायिका तथा मोडल ज्योति मगर एलिना चाैहानकाे प्रस्तुति रहने

घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ अन्तर्गत महोत्सवको चौथो दिन आज (पुस २८ गते) चर्चित लोकगायिका तथा मोडल ज्योति मगर सहितका कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ ।

सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार ज्योती मगरले नृत्यसहित लोकदोहोरी र अन्य विविध प्रस्तुति देखाउने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक प्रेम शर्मा, कलाकार वर्षा मगर र सुशीला मगरको पनि प्रस्तुति रहनेछ । हरेक दिनझैं आज पनि सोनी डान्स ग्रुपले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।

कार्यक्रमको सञ्चालन माधव जोन खत्री र रुपा घर्ती मगर ले संयुक्त रूपमा गर्नेछन् । आयोजकका अनुसार आजको कार्यक्रमले माघे मेलाको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

यसैबीच, मेला आयोजक नेपाल मगर सङ्घ घोराही उपमहानगरपालिका समितिका अध्यक्ष बेदबहादुर बुढा मगले मेला सुरु भएदेखि नै प्रत्येक दिन दर्शकको सहभागिता क्रमशः बढ्दै गएको जानकारी दिए । उनका अनुसार मेलाको मुख्य उद्देश्य संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउनु, स्थानीय संस्कृतिको संरक्षण गर्नु र दाङको पर्यटन प्रवर्द्धन गर्नु हो ।

दर्शकको थप आकर्षणका लागि मेलास्थलमा आइफेल टावर, लण्डन ब्रिज र जलपरी जस्ता आकर्षक संरचनाहरू निर्माण गरिएको छ । आयोजकका अनुसार भोलिदेखि जलपरी औपचारिक रूपमा प्रदर्शनीमा राखिनेछ, जसले मेलालाई पारिवारिक अवलोकन र फोटो खिच्ने गन्तव्यका रूपमा समेत स्थापित गरेको छ ।

मेलामा मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले वातावरणलाई अझ रंगीन र जीवन्त बनाएको छ । प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले मेलाको बाँकी दिनहरूमा अझ बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस