तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुन थालेको छ । सम्मेलन यही मंसिर १४ र १५ गते काठमाडौँमा हुने भएको हो ।

प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा सम्मेलन हुन लागेको ेअध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए । काठमाडौँको होटल हायत रिजेन्सीमा हुने यस कार्यक्रममा शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपलहरू, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरू सहभागी हुने अध्यक्ष ढुङ्गानाले बताए । सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने छ ।

सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता
अध्यक्ष ढुङ्गानाका अनुसार सम्मेलनमा विशेष रूपमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइनेछ, जसले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन योगदान पु¥याउने अपेक्षा गरिएको छ । सम्मेलनमा फिनल्यान्ड, बेलायत र क्यानडाजस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्ने अध्यक्ष ढुङ्गानाले जानकारी दिए । उनका अनुसार कार्यक्रमलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण गरिने हुँदा यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने योजना रहेको छ ।

अन्तर्राष्ट्रिय सहभागीता र शत्रहरू
सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागीता रहने अध्यक्ष ढुङ्गानाले जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनमा १२ भन्दा बढी शत्रहरू सञ्चालन गरिने भन्दै अध्यक्ष ढुङ्गानाले शैक्षिक विषयका छलफल, नीतिगत बहस र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिने जानकारी दिए ।

सम्मेलनले विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । नेपालमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरी विदेश जाने विद्यार्थीलाई रोक्ने र विदेशी विद्यार्थीहरूलाई आकर्षित गरी नेपाललाई शैक्षिक गन्तव्य बनाउने लक्ष्य रहेको महासचिव कटवाको भनाइ छ ।

सम्मेलनमा प्रशिक्षार्थी, वक्ता तथा प्रस्तोता गरी ४५० जना सहभागी हुने अपेक्षा गरिएको छ । नेपालको शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा यस सम्मेलनलाई लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस