छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा समाजका लागि हानिकारक-महासचिव पोखरेल

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले “छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा समाजका लागि हानिकारक” भएको बताएका छन् ।

गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले दुर्गा प्रसाई र रवि लामिछानेजस्ता नेताहरूको अभिव्यक्ति र अराजकतालाई बढावा दिनु दीर्घकालीन रूपमा समाजप्रति नकारात्मक असर पार्ने दाबी गरे ।

महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने बताउँदै देशमा ओलीको विकल्प नरहेको दोहोर्‍याए । उनले भने, “संसदमा दोस्रो ठूलो दल भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो । संवैधानिक संसदीय व्यवस्थामा पूर्व राष्ट्रपतिहरूले मर्यादित र सम्मानित भूमिकामा रहन आवश्यक छ, पार्टीले आफ्ना नेताको सम्मानमा कुनै कमी गरेको छैन ।”

भारतले लगाएको नाकाबन्दी ओलीकै नेतृत्वमा सामना गरिएको स्मरण गर्दै पोखरेलले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा परिवर्तन गर्ने साहस ओलीले मात्रै देखाएको दाबी गरे । “ढिलोचाँडो छिमेकीले पनि यो विषयमा सुन्नैपर्छ,” उनले थपे ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले पनि पार्टीभित्र निराशा गर्ने अवस्था नरहेको बताए ।

उनले व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागी एकतामा जोड दिए । भट्टराईका अनुसार आगामी भदौ २० देखि २२ सम्म गोदावरीमै हुने दोस्रो विधान महाधिवेशनले ‘मिसन ८४’ लाई सफल बनाउन मार्गनिर्देशन गर्नेछ ।

कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य शुसिला नेपाल, केन्द्रीय सदस्य बाबुराम थापा, प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, ललितपुर क्षेत्र नं. १ इन्चार्ज रुपनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमभक्त महर्जन र रघुनाथ महर्जन, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यलगायतको उपस्थिति थियो ।

कार्यक्रम अघि टाहाखेल चौतारोबाट धिमे बाजा र खैजडी भजनसहित स्वागत गरिएको थियो । कार्यक्रममा गोदावरी नगरका मात्र नभई आसपासका पालिकाका नेता–कार्यकर्ताको समेत सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस