काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने अभियान शनिबार पनि निरन्तर जारी राखिएको छ ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका को समन्वयमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति र धोबीखोला नदी किनारमा रहेका घरटहरा हटाउने कार्य भइरहेको छ।
कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित संरचना हटाउने काम पनि समानान्तर रूपमा अगाडि बढिरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल ले जानकारी दिए ।
उनका अनुसार स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रहरूमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने कार्य तीव्र पारिएको छ ।
यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेका जोखिमयुक्त वस्ती हटाइएको थियो। हालसम्म काठमाडौँ उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको प्रशासनले जनाएको छ ।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ। यसैबीच शहरी विकास मन्त्रालय का अधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन गरिरहेका छन्।
सरकारले नदीकिनार अतिक्रमण हटाएर बाढी जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा शहरी व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस