नेपाल उच्च प्रकोप जोखिममा रहेको कृषिमन्त्री अधिकारीको भनाइ

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाललाई प्रकोप र विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको देशको रूपमा औंल्याउनुभएको छ।

उहाँले श्रीलङ्काको कोलम्बोमा आयोजित ‘एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलन’मा सम्बोधन गर्दै विविध भूगोलयुक्त नेपालमा बर्सेनि बाढी, पहिरो, खडेरी, शीतलहर, चट्याङ, र हिमताल विस्फोटजस्ता प्रकोपले ठूलो क्षति पुर्‍याउने गरेको बताउनुभयो।

मन्त्री अधिकारीका अनुसार यस्तो प्राकृतिक जोखिमले पूर्वाधारको विनाश, मानव क्षति र आर्थिक गतिविधिमा गम्भीर असर पार्दै आएको छ। उहाँले जलवायु परिवर्तनका कारण जोखिमको आवृत्ति र अनिश्चितता बढ्दै गएको उल्लेख गर्दै त्यसको प्रमुख मार दुर्गम र पहाडी क्षेत्रका बासिन्दाले खेपिरहेको बताउनुभयो।

मन्त्री अधिकारीले जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउँदै जीवनरक्षात्मक जानकारीलाई संवेदनशील समुदायसम्म समयमै पुर्‍याउन संस्थागत क्षमता अभिवृद्धिमा नेपाल प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।

सो सम्मेलनमा अफ्रिकी र एसियाली मुलुकहरूबीच एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणाली निर्माणका लागि सहकार्य र साझा दृष्टिकोणको आवश्यकता औंल्याइएको थियो। सम्मेलन श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणाली (RIMES) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस