गणतान्त्रिक संस्कारको विकासमा नेतृत्व गम्भीर बन्नुपर्नेमा बौद्धिकहरूको जोड

दाङ । नेपाल बुद्धिजीवी परिषद् दाङको आयोजनामा शनिबार घोराहीमा “नेपालको पञ्चायतकाल र गणतन्त्रकालका आर्थिक समृद्धिका सूचकहरूको तुलना” विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

परिषद् दाङका अध्यक्ष उपप्राध्यापक तिर्थराज न्यौपानेको अध्यक्षता र परिषद्का केन्द्रीय सचिव कृष्णकुमार लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी बौद्धिक व्यक्तित्वहरूले गणतन्त्रकालमा आर्थिक समृद्धिका सूचकहरू सकारात्मक भए पनि राजनीतिक दलहरूको नेतृत्वमा गणतान्त्रिक संस्कारको विकास नहुनु चिन्ताजनक विषय भएको धारणा राखेका छन् ।


कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र भण्डारीले पञ्चायत र गणतन्त्रकालका आर्थिक सूचकहरूको तुलनात्मक विश्लेषण सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा महेन्द्र बहुमुखी क्याम्पस दाङका समाजशास्त्र विषयका उपप्राध्यापक नवराज सुवेदीले टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि लम्सालसहित नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का इञ्चार्ज जीवन गौतम, बुद्धिजीवी परिषद् का केन्द्रीय सदस्य श्याम आचार्य, एमाले पार्टी उपाध्यक्ष मनोहर बुढाथोकी, प्रदेश योजना आयोग सदस्य तथा बुद्धिजीवी फाँटका इञ्चार्ज भुवन चौधरी, पूर्व अध्यक्ष प्रा. डा. श्रीधर मजगैयालगायत वक्ताहरूले कार्यपत्रले औँल्याएका विषयहरू जनताले महसुस गर्नेगरी व्यवहारमा उतार्न नेताहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो ।

वक्ताहरूले पञ्चायती व्यवस्थाको तुलनामा गणतन्त्रले धेरै उपलब्धि हासिल गरे पनि त्यसलाई आम नागरिकले प्रत्यक्ष अनुभव गर्नेगरी व्यावहारिक बनाउन नसकेको, साथै तथाकथित गणतान्त्रिक दलभित्रै अझै पनि सामन्ती सोच मौलाइरहेकाले यसमा सुधार नगरेसम्म गणतान्त्रिक पद्धति सुदृढ र स्थायी हुन नसक्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण परिषद्का सहसचिव नारायण पौडेलले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न दल, बुद्धिजीवी, शिक्षक, सामाजिक अभियन्ता तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस