बालअधिकारमैत्री समाज निर्माणमा साझा प्रतिबद्धता

लक्ष्मी पाेखरेल
दाङ ।
बालअधिकार संरक्षण, प्रवर्द्धन तथा प्रभावकारी अनुगमन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले दाङको राप्ती उपत्यका (देउखुरी) मा आयोजित तीनदिने “बालअधिकार कार्यक्रम तथा अनुगमनसम्बन्धी तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित उक्त तालिममा मन्त्रालयका मन्त्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा मन्त्रालयका सचिवले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा प्रभावकारी अनुगमन संयन्त्रको आवश्यकता र महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो ।

तालिम पिस नेपालका अध्यक्ष मणि प्रसाद गैरेको अध्यक्षतामा सञ्चालन भएको हो भने सहजीकरण योगेन्द्र बुढाले गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक समाज, सरोकारवाला निकाय, विभिन्न संघसंस्था तथा बालअधिकारका क्षेत्रमा क्रियाशील प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विजय अधिकारी, शालिकराम पाण्डेलगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन, बाल संरक्षणका चुनौती, प्रभावकारी अनुगमन प्रणाली र बालमैत्री वातावरण निर्माणका विषयमा गहन छलफल गरिएको आयोजकले जनाएको छ ।

सहभागीहरूले स्थानीय तहमा बालबालिकाले भोगिरहेका समस्या, चुनौती र समाधानका सम्भावित उपायबारे अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बाल संरक्षण, बाल सहभागिता, बाल हिंसा न्यूनीकरण, बालविवाह रोकथाम तथा बालअधिकारसम्बन्धी कानुनी व्यवस्थाबारे समेत प्रशिक्षण दिइएको थियो ।

सहभागीहरूले बालबालिकाको हकहित सुनिश्चित गर्न सरकारी निकाय, नागरिक समाज र सरोकारवालाबीच समन्वय तथा सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

समापन समारोहमा सहभागीहरूले बालअधिकार संरक्षण र प्रवर्द्धनका लागि आआफ्नो क्षेत्रबाट थप जिम्मेवार, सक्रिय र प्रतिबद्ध भएर काम गर्ने अठोट व्यक्त गरेका थिए ।

आयोजकका अनुसार नागरिक समाज, सरोकारवाला निकाय तथा सहभागीहरूको साझा प्रतिबद्धताले बालअधिकारमैत्री समाज निर्माणतर्फ सकारात्मक सन्देश र नयाँ ऊर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस