शंकर पोखरेलद्वारा प्रधानमन्त्रीसँग ‘ज्ञ क्रान्ति’ को खाका माग

सुकुम्बासी विस्थापनबारे सरकारलाई प्रश्न-पुनःस्थापना नगरे मानवीय संकट गहिरिने चेतावनी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह सँग ‘ज्ञ (ज्ञान) क्रान्ति’को स्पष्ट खाका प्रस्तुत गर्न माग गरेका छन् ।

प्रधानमन्त्री शाहले “असली क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ” भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि त्यसप्रति प्रतिक्रिया जनाउँदै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्-“विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू ।”

पोखरेलले सरकारमाथि सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौँ नागरिकलाई घरवारविहीन बनाएको आरोप लगाएका हुन् । उनले बर्खायाम नजिकिँदै गर्दा समयमै पुनःस्थापना नगरिए गम्भीर मानवीय संकट निम्तिन सक्ने चेतावनी दिएका हुन् ।

उनले २०७५ सालमा वारा–पर्सा क्षेत्रमा आएको भीषण आँधीको उदाहरण दिँदै त्यतिबेला २८ भन्दा बढी नागरिकको ज्यान गएको, १ हजार १५० भन्दा बढी घाइते भएको र झण्डै २ हजार ५०० घरमा क्षति पुगेको स्मरण गराए । उक्त विपद्पछि तत्कालीन सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावितलाई पुनःस्थापना गरेको उल्लेख गर्दै अहिलेको अवस्था भने फरक देखिएको उनको भनाइ छ।

अस्थायी सेल्टरहरूको अवस्था दयनीय रहेको र त्यहाँ पुग्नेहरूलाई तस्बिर खिच्नसमेत रोक लगाइएको दाबी गर्दै पोखरेलले पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठाए ।

प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले लेखेका छन्, “‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजना र समयसीमासहित आश्वस्त पार्नुपर्ने होइन र ?”

पोखरेलले सरकारलाई मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ गम्भीर बन्न सुझाव दिएकन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस