दाङ । पेशागत महासंघ दाङले नयाँवर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान र वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
महासंघका अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षतामा र नेकपा एमालेका केन्द्रीय सदस्य कुमार दसोदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरूले नयाँ वर्षको अवसरमा यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दसोदीले पेशागत महासंघको श्रमिक वर्गका हकहितका लागि गरिरहेको संघर्षको प्रशंसा गर्दै महासंघलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्नका लागि सुझाव दिनु भयो । उहाँले भन्नु भयो, “यस बेला नेकपा एमालेका प्रत्येक नेता र कार्यकर्ताले पार्टी माथि भइरहेको चौतर्फि आक्रमण र घेराबन्दीलाई एकजुट भएर सामना गर्नु पर्ने आवश्यकता छ”, भन्दै सम्पूर्ण पार्टीका सदस्यलाई एकता र सहकार्यको मार्गमा अघि बढ्न आग्रह गर्नुभयो ।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले पेशागत महासंघको श्रमिक वर्गको हक र अधिकारका लागि लम्बे समयदेखि संघर्ष गर्दै आएको बताउँदै यस प्रकारका कार्यक्रमहरूले पेशागत संघसंस्थाबीच सहकार्य र एकताको भावना बढाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले जनवर्गीय संगठनहरूको यस्ता गतिविधिहरूले पार्टीलाई अझ मजबुत बनाउनेमा विश्वास व्यक्त गर्नु भयो ।
महासंघका अध्यक्ष खिमबहादुर डाँगीले नयाँ वर्षको सुरुवात सकारात्मक ऊर्जा र सहकार्यको माध्यमबाट गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले महासंघका गतिविधिहरूलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा विभिन्न पेशागत संगठनका प्रतिनिधिहरू, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू र महासंघका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । शुभकामना आदानप्रदानपछि वनभोज कार्यक्रमको आयोजना पनि गरिएको थियो, जसले सहभागीहरूबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस