दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको बताउदै नतिजा सुधार गर्न शिक्षकहरुलाई निर्देशन दिनुभएको हो ।
‘‘एसईईको नतिजा के कस्तो आयो सबैलाई अवगत छ । अबको नतिजा त्यस्तो नहोस्’’, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘शैक्षिक गुणस्तर सुधार गरेर तपाई कार्यरत विद्यालयलाई नमुना बनाउन ध्यान दिनुहोस् ।’’
सामुदायिक विद्यालयलाई सबै हिसाबले नमुना बनाउनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन थियो । ‘‘पठनपाठनको दृष्टिले विद्यालयलाई नमुना बनाउनैपर्छ’’, उहाँले भन्नुभयो,‘‘नतिजा सन्तोषजनक देखिदैनन् । यसमा सुधार गर्नैपर्छ ।’’
असोज १२ सम्पन्न जिल्ला सम्मेलनले नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको नेतृत्व चयन गरिएको थियो । संगठनका जिल्ला अध्यक्ष मिनराज शर्माले कार्यालयको भवनलाई सिकाइ केन्द्रका रुपमा विकास गर्नेगरी साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने भनाइ राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस