काठमाडौँ ।–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री गुरूङले पुँजीगत खर्च बढाउन जोड दिँदै कानुनी र नीतिगत बाधा समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले फाइल तीन दिनभन्दा बढी टेबलमा नराख्न र समस्यामा बढीमा सात दिनभित्र समाधान खोज्न निर्देशन दिनुभयो ।बैठकमा काठमाडौँमा आइटी पार्क निर्माण, गोरखापत्रको भवन निर्माण, एआई प्रविधिको प्रयोग, सार्वजनिक सेवा प्रसारण संस्थाका लागि बजेट व्यवस्थापनजस्ता योजनाहरू अघि सारिएको जानकारी गराइयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बजेट खर्च गर्न नसक्नु सरकारकै प्रमुख समस्या भएको बताउँदै खर्च वृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
यसै क्रममा, राससका प्रशासन प्रमुख शीतल महतोले संस्थालाई आत्मनिर्भर बनाउने योजनाबारे जानकारी गराउँदै राससको ६४औँ वार्षिकोत्सवमा विशेष गतिविधि गरिने बताए ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले डिजिटाइजेसन कार्य अगाडि बढाइएको जानकारी गराए । बैठकमा मन्त्रालय मातहतका विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस