बाढीपहिरो र डुबानमा विद्यालय : १८ विद्यार्थीको मृत्यु, २५ विद्यालयमा पूर्ण

साढे २ लाख प्रभावित, दशैंलगत्तै अस्थायी टहरा निर्माण गरी पढाइ सुरू गर्ने तयारी

काठमाडौं । गत असोज ११ र १२ गतेको अबिरल वर्षपछिको बाढीपहिरो र डुबानमा परी देशभर १८ जना विद्यार्थीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अनुसार बाढीपहिरो र डुबानमा परी २ लाख ५० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल प्रशिक्षणमा छनौटमा परेका मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाको सिस्नेरी बजारनजिक वत्सलादेवी माविमा अध्ययनरत ६ जना, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्याङ माविका एकजना, काभ्रेको बनेपा नगरपालिकाको आशापुरेश्वर आधारभूत विद्यालय एक, तिमाल गाउँपालिकाको कुशेश्वर माविका एक, सर्वोद्वार माविमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको जनाएको छ।

त्यस्तै काभ्रेको रोशी गाउँपालिकाको ज्वालादेवी आधारभूत विद्यालयका दुई, पनौती नगरपालिकाको श्रीराम माविका एक, बुटवलको कालिका माविको दुई, दोलखा भीमेश्वर नगरपालिकाको अल्पाइन माविका एक, भक्तपुर सूर्यविनायक नगरपालिकाको ज्योति माविका एक जना विद्यार्थीको बाढी र पहिरोमा परेर मृत्यु भएको सूचना अधिकारी पोखरेलले जानकारी दिनु भयो।

उहाँका अनुसार बाढी र पहिरोमा परी २५ विद्यालय पूर्ण रूपमा क्षति भएको छ, भने १ सय ६८ वटा विद्यालयमा आंशिक क्षति भएको छ । ललितपुरको ज्ञानज्योति आवि, गोदावरीको जनविकास मावि, बुद्ध मावि बाडेगाउँ, गणेश आधारभूत विद्यालय, हिमाली आधारभूत विद्यालय, गोदावरी आवासीय, नागदह आधारभूत विद्यालयको भवनमा क्षति भएको छ ।

त्यस्तै, काभ्रेपलान्चोकको नवज्योति आधारभूत, कालिका देवी, सिमभञ्ज्याङ, पञ्चकन्या मावि, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवि, भालेश्वर माविको भवनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै, काभ्रेको कौशिक वैदिक गुरुकूल, कालीदेवी आविको एक–एक भवनमा पूर्ण क्षति भएको छ।

बाढीले सुर्खेतको भगवती माविको दुई, चितवनको मालपुर माविको एक, तनहुँको कालिका देवी आधारभूत, चन्द्रज्योति माविको एउटा भवनमा क्षति भएको छ । मन्त्रालयका अनुसार आठ कोठे भवन दुई वटामा पूर्ण क्षति भएको छ । यसमध्ये पहिरोले पुरिएको १३ वटा रहेको छ । बाढी पहिरोमा परेकामध्ये ५० जना शिक्षक र विद्यार्थीको उद्धार भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस