चाडपर्व नजिकिँदै गर्दा जिल्लाभर विशेष सुरक्षा सतर्कता बढाउँदै

दाङ । नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै दाङमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो। दसैंसँगै तिहार र छठ जस्ता प्रमुख पर्वहरू नजिकिँदै आएकाले जिल्लाभर सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी लम्सालले चाडपर्वलाई सुरक्षित, मर्यादित, र सद्भावपूर्ण बनाउन चाडबाडलक्षित सुरक्षा योजना परिचालन गरिएको जानकारी दिनुभयो।

पर्वको समयमा शान्ति सुव्यवस्था कायम गर्न, अमनचयन खल्बलिन सक्ने स्थानहरूको पहिचान गरी ती ठाउँमा विशेष सुरक्षा परिचालनको व्यवस्था मिलाइएको लम्सालले बताउनुभयो। उहाँले भन्नुभयो, “विशेषतः दसैंको मेला लाग्ने स्थानहरू, दुर्गा मन्दिर र मूर्ति भएका स्थानहरूलाई सुरक्षाको विशेष निगरानीमा राखिएका छन्। विगतका घटनाक्रम, सामाजिक एवं धार्मिक स्वरूप, र भौगोलिक अवस्थिति जस्ता विषयलाई विश्लेषण गरी सुरक्षा परिचालनको व्यवस्था मिलाइएको छ।”

चाडपर्वको बेला सशस्त्र र नेपाल प्रहरीलाई सतर्क अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी बल नेपाल कोइलाबासका गुल्मपति गोविन्द केसीले गाउँघरदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म गस्ती लगायतको सुरक्षा प्रवन्ध मिलाइएको बताउनुभयो।

केसीले भन्नुभयो, “क्रसबोर्डर अपराध नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग पनि समन्वय र सहमति भएको छ। घटस्थापनादेखि मूर्ति विसर्जनको अवधिसम्म सीमा नाकामा सूक्ष्म निगरानी, सूचना आदानप्रदानका साथै सुरक्षा जाँचलाई तीव्रता दिइएको छ।” चाडबाडलक्षित सुरक्षाका लागि गाउँबस्तीदेखि वन क्षेत्रसम्म विभिन्न प्रकारको सुरक्षा परिचालनको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

विशेष सुरक्षा योजनालाई जिल्ला सुरक्षा समितिको बैठकले पनि पारित गरिसकेकाले कार्यान्वयन तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले सादा पोसाकमा सुरक्षा परिचालन, यातायात सुरक्षा, आकस्मिक चेकजाँच, यात्रु सुविधाका लागि नागरिक सहायताकक्ष स्थापना, प्रमुख मार्गमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त गस्ती लगायतका व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

प्रहरीले रात्रिकालीन यात्रु बसहरूको सुरक्षालाई ध्यानमा राखेर वन क्षेत्रमा विशेष सुरक्षा प्रवन्ध मिलाएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग खण्डमा पर्ने घना जंगललाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिन्छ। प्रहरी प्रमुख तिमिल्सिनाका अनुसार, राजमार्ग क्षेत्रमा सुरक्षा प्रभाव बढाउन सशस्त्र प्रहरीसँग पनि सहकार्य गरिएको छ।

प्रहरीले जिल्लाका भित्रि सडकहरूमा समेत थप सुरक्षा निगरानी, आकस्मिक गस्ती, ‘क्विक रेस्पोन्स टिम’ (QRT) र प्रहरी पिकेट जस्ता विशेष सुरक्षा परिचालन मिलाएको जनाएको छ। पर्वका बेला चर्को स्वरमा माइक बजाउने, ध्वनि प्रदूषण गर्ने जस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न प्रशासनले डिजे बजाउन रोक लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

नेपालीहरूको महान् पर्व दसैं, तिहारलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल कोइलाबास गुल्म र नेपाल प्रहरीले दाङको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन्। सीमा क्षेत्रमा चाडपर्वको बेला चहलपहल बढी हुने भएकाले सीमानाका कोइलाबासमा चेकजाँचमा कडाइ गरिएको सशस्त्र प्रहरी बल नेपाल कोइलाबासका गुल्मपति गोविन्द केसीले जानकारी दिनुभयो।

सीमा क्षेत्रमा अपराधजन्य क्रियाकलाप तथा चहलपहल बढी हुने हुँदा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि नेपाल भित्रिने नागरिकहरूलाई कडाइका साथ चेकजाँच गरिरहेको छ। यसका साथै प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना पनि लागू गरेको छ।

दसैं, तिहारको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाभर सयौँको संख्यामा प्रहरी परिचालन गरेको छ। नागरिकले शान्त र सभ्य तरिकाले चाडपर्व मनाउन पाउन भन्ने उद्देश्यले प्रहरीले सुरक्षामा विशेष कडाइ गरेको जनाएको छ। पैदल गस्ती, राजमार्ग गस्ती, मोबाइल गस्ती, क्यूआरटी गस्ती लगायतका कार्यहरू प्रहरीले गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस