महिला कबड्डीमा नेपालले थाइल्यान्डलाई हरायो

काठमाडौँ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ ।

जापानको टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा नेपाल थाइल्यान्डसँग २४–१५ अङ्कले पछि परेको थियो। दोस्रो हाफमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३१–१९ अङ्कले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो हाफमा गरेको सुधारसँगै नेपालले समग्रमा ४६–४३ को जित निकाल्न सफल भयो । एसियाली खेलकुदमा नेपालले अपेक्षा गरेका खेलबाट सोचेजस्तो नतिजा आउन नसकिरहेका बेला महिला कबड्डीको यो जितलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । जारी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ ।

उक्त समूहमा नेपालसँगै थाइल्यान्ड, श्रीलङ्का र चाइनिज ताइपे छन्। नेपालले लिग चरणमा अब श्रीलङ्का र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, समूह ‘ए’ मा इरान, भारत, बङ्गलादेश र जापान रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस